चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने
काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । ‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको छ, सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको छ, चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएका छन्, नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको छ,’ उनले भने । अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्नसकिने बताए । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रबार) बाट चल्नेछ ।
मङ्सिर र पुसमा बढ्दै छन् चलचित्र प्रदर्शनी
काठमाडौं । आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको प्रचारप्रसार बढेसँगै चलचित्र प्रदर्शनमा भने कमी आइरहेको छ । आम मानिसको ध्यान निर्वाचनमा केन्द्रीत रहेको हुँदा मङ्सिर, पुस र माघमा चलचित्र प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् । आगामी फागुन ५ गते तीन र १९ गते पाँच चलचित्र प्रदर्शन गरिने घोषणा हुँदासमेत मङ्सिरदेखि माघसम्म प्रदर्शनको मिति खाली थिए तर अहिले विस्तारै ती महिनामा पनि प्रदर्शन गरिने भएका छन्। फागुनपछि प्रदर्शनका लागि सङ्घर्ष गर्नुपर्ने भएपछि अगाबै चलचित्र प्रदर्शन गरिने घोषणा हुन थालेको वितरक करण श्रेष्ठले बताए । ‘निर्वाचन, जाडोको समय र विश्वकप फुटबलले असर गर्ने अनुमानले चलचित्र फागुनमा रिलिज घोषणा भएका छन् । खाली डेट भएकै कारण मेरो एउटा चलचित्रसमेत मङ्सिरमा प्रदर्शन गर्दैछु’, उनले भने,’दर्शकलाई आकर्षित गर्न सकेमा चलचित्रको व्यापार राम्रै हुन्छ । निर्वाचन लगत्तै चलचित्रले एकल प्रदर्शन हुन् पाउनेछन् ।’ मङ्सिरमा चलचित्रको भीडन्त नभए तापनि पुस १५ मा भने तीन चलचित्र प्रदर्शन हुने तयारीमा छन् । मङ्सिरमा मिलन, पासो, डेसान, चोर–पुलिसलगायत चलचित्र प्रदर्शनका लागि घोषणा भइसकेका छन् । पुसमा डिसेम्बर फल्स, कौसिद र ची मुसी ची प्रदर्शन हुने घोषणा गरिएको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले केही समययता नेपाली चलचित्रले गरिरहेको व्यापारले आश बढाएको बताए । ‘असोज र कात्तिकमै चार नेपाली चलचित्रले घरेलु बजारबाट लगानी उठाएका छन् । दर्शकलाई चाहिने चलचित्र ल्याउने हो भने लगातार चलचित्र चल्छ, उनले भने,’दर्शक आइरहदा उनीहरूको रुचिभन्दा बाहिरको चलचित्र पर्यो भने पुनः हल फर्काउन भने समय लाग्छ ।’ एउटै मितिमा धेरै चलचित्र घोषणा हुँदा असर परिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले स्वीकारे । ‘चलचित्रसँग सम्बन्धित सङ्घ तथा सस्थासँग परामर्श गरेर हामी दीगो समाधान निकाल्ने प्रयासमा छौँ । नीति नियमसँगै आपसी सहमतिका प्रयास पनि भइरहेका छन्’, उनले भने ।
कात्तिक २५ गतेदेखि ‘उचाई’ प्रदर्शन हुँदै
काठमाडौं । गत वर्ष कोरोना भाइरसको महामारी र ओभर दी टप ओटिटको बढ्दो प्रयोगले पुनः दर्शक हलमा फर्किने हुन् वा होइनन् भन्ने बहसकै बीच नेपालमा छायाङ्कन हुन् आएको भारतीय फिल्म ‘उचाई’ ले नेपाली पर्यटनलाई प्रवद्र्ध्धनमा सहयोग गर्ने भएको छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसन जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको फिल्म ‘उचाई’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए । त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरे । बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन् । नेपालमा स्वयम्भू, काठमाडौँ विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाङ्कन भएको थियो । नेपालमा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनि थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले व्यवस्थापन गरेका थिए । ‘उनीहरूसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाएँ । उनीहरूको काम गर्ने शैली परिपक्व छ’, प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने, ‘दिग्गज कलाकारहरूको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गथ्र्यो । निर्देशकले नेपाली दृश्य खिच्नलाई कुनै सम्झौता गरेन ।’ छायाङ्कन टोलीमा भारतीय टोलीमा एक सय ५५ जना सदस्य र नेपालीतर्फ कलाकारबाहेक छायाङ्कनमा ३० देखि ३५ जना नेपाली प्राविधिक खटिरहे । टोलीका लागि ६०/६५ गाडीको प्रयोग चौबिसै घण्टा रहन्थ्यो । लाइन प्रोड्युसर आचार्यका अनुसार छायाङ्कनको दौरान लगभग तीन सयको हाराहारीमा हेलिकप्टर उडान गरिएको थियो । ‘हामीले फाप्लो–लुक्ला, लुक्ला–नाम्चे, नाम्चे–एबिसी, कालापत्थर, कालापत्थर–काठमाडौँ, काठमाडौँ–मनाङको यात्रा हेलीबाटै गरेका थियौँ’, उनले भने । उचाईको छायाङ्कन भएपश्चात् केही सिरिज तथा फिल्महरू नेपालमा छायाङ्कन हुन् आएका छन् । ‘सरकारका तर्फबाट केही सेवासुविधा पाए छायाङ्कनमा आउने सङ्ख्या बढ्छ जस्तो लाग्छ । कानुनी अड्चनसँगै विविध समस्याहरू छन् । यद्यपि, उचाई प्रदर्शन भएपछि अन्य प्रोडक्सन हाउसलाई नेपालले लोभ्याउनेमा विश्वत छु’, प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने । डेनी डेन्जोङ्पा सोलुखुम्बुवासीको भूमिकामा छन् । उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल ल्याउने प्रयास गरेता पनि त्यो सफल हुँदैन । डेन्जोङ्पाको निधनपश्चात् उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन नेपाल आउने कथा फिल्ममा छ । नेपाली गाइड परिणिती चोपडाले उनीहरूलाई हिमाल पुर्याउने र घुमाउने भूमिका निर्वाह गरेका छन् । यात्रामा यी तीन साथीहरू आउने आरोह अवरोह नै मूल कथा हो ।