‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन
काठमाडौं । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिए । ‘प्रेमकथालाई दर्शकले रूचाए । निर्माताका रूपमा अन्य चलचित्रमा आवद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ’, उनले भने । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको उक्त चलचित्रमा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहेका अष्टमान महर्जनले ‘गुञ्जन’मार्फत चलचित्र निर्देशनमा डेब्यु गरेका छन् । ‘मैले द्वन्द्वप्रधान चलचित्र बनाउँछु अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दै गर्दा मैले राम्रो कथालाई रोजेको हुँ’, उनले भने । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको उक्त चलचित्रमा सारा सिर्पाली, कविर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले अभिनय गरेका छन् । चलचित्र गुञ्जनमा महेश दबाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ ।
नेपालमै पहिलो अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुँदै, विजेताले एक करोड पाउने
काठमाडौं । नेपालमा पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको छ । इन्ट्रा नेशनल एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको हाे । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउनडेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने फाउनडेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मेरो भ्वाईस यूनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परिवार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान, जस्ता वरिष्ठ गायकहरु समावेश छन् । त्यस्तै डान्स यूनिभर्सको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई छन् । यि शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय रियालिटी शोहरु निर्देशन गरिसकेका छन् । जस्तै नेपाल आईडल, बूगी—बुगी नेपाल लोक स्टार, सारेगमपा लिल च्याम्पको निर्देशन गरिसकेका छन् । मेरो भ्वाईस यूनिभर्सका विजेताले एक करोड पाउनेछन् । क्रमश दोस्रो हुनेले ३० लाख तेस्रो हुनेले २० लाख पुरस्कार पाउनेछन् । डान्स तर्फ क्रमश एक करोड, ३० लाख, र २० लाख पाउनेछन् । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाईल्याण्ड भुटान, भारत, अष्टेलिया, अमेरिका, क्यानडा, लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।
चलचित्र ‘ह्रस्य दीर्घ’बाट पुनरागमन गर्दै नायिका विपना थापा
काठमाडौं । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ’, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् । चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्स्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ । ‘विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौँ । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्’, निर्देशक पन्तले भने । रासस