चलचित्र ‘ह्रस्य दीर्घ’बाट पुनरागमन गर्दै नायिका विपना थापा
काठमाडौं । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ’, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् । चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्स्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ । ‘विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौँ । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्’, निर्देशक पन्तले भने । रासस
फागुन १९ मा ‘छक्का पञ्जा ४’ प्रदर्शन हुने
काठमाडौं । छक्का पञ्जा ४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ । ‘चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ’, उनले भने । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । ‘वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ’, कार्यकारी निर्माता शर्माले भने ।
ग्यापुको टिकटक हिरोका लागि भोटिङ सुरु
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आयोजना गरेको ‘टिकटक हिरोज सिजन २’ का लागि भोटिङ सुरु गरेको छ । ग्यापुको मोबाइल एपमा गएर आफूलाई मन पर्ने टिकटकरलाई निशुल्क भोटिङ गर्न सकिनेछ । टिकटक प्रयोगकर्तालाई टिकटक हिरोजमा सहभागी हुनका लागि कात्र्तिक ४ देखि १८ गतेसम्म फारम खुला गरिएको थियो । सहभागीमध्ये उत्कृष्ट सय जना छनोट गरी भोटिङ खुला गराएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए । उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।