महापुरूषुले गर्‍यो १० करोडको व्यापार

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार राम्रो देखियो । प्रायः एकवर्षमा दशभन्दा कम फिल्मले हलबाटै मुनाफा कमाउने गरेको तथ्याङ्क छ । यद्यपि यसैवर्ष मङ्सिरसम्म कबड्डी ४, झिँगेदाउ, प्रेम गीत ३, के घर के डेरा, दुई नम्बरी र महापुरूषले हलबाटै मुनाफा कमाएका छन् । आइतबार फिल्म ‘महापुरूष’ युनिटले पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो साता पूरा गर्दा दश करोड बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । ‘हामीले पहिलो साता पाएको शो सङ्ख्यामा खासै परिवर्तन आएको छैन । हामीले पाएको शोहरू मल्टिप्लेक्समा अझैँ भरिभराउ छन्’, निर्माता दीपेश खत्रीले भने, ‘फिल्म हेर्न परिवार नै आइरहनु भएको छ । यसैले फिल्मको व्यापार राम्रो भइरहेको छ ।’ यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ । नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ । निर्माता खत्रीका अनुसार फिल्मले पहिलो साता उपत्यका अन्तर्गतको हलमा तीन करोड छ लाख ६५ हजार र उपत्यका बाहिरका हलमा एक करोड पचास लाख १२ हजार, दोस्रो सातामा उपत्यकामा एक करोड ८९ लाख एक हजार र बाहिर ९४ लाख १७ हजार, तेस्रो सातामा उपत्यकामा ९६ लाख तीन हजार र बाहिर ४५ लाख सात हजार तथा चौँथो सातामा उपत्यकामा ८७ लाख सात हजार र मोफसलमा ३९ लाख आठ हजारको व्यापार गरेको छ । ‘फिल्म व्यापारमा केन्द्रित नभइ आफ्नै मौलिक कथा भन्नुपर्छ भन्ने लागेर यो विषयलाई ठूलो पर्दासम्म ल्याएका हौँ । यसले गरेको व्यापारले आगामी दिनमा गहन विषयलाई उठाउन हौसला मिलेको छ’, लेखकसँगै निर्देशकसमेत रहनुभएका प्रदीप भट्टराईले भने, ‘यो एक्लोपनको कथा हो । मैले वा धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू फिल्मले भन्छ ।’ स्वदेशमा मात्र नभइ विदेशमा समेत यो चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । ‘नेपालसँगै अमेरिका, क्यानाडा, अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ, अमेरिकामा यसले ५१औँ दिन मनाउने सम्भावना छ’, कार्यकारी निर्माता बानियाँले भने, ‘व्यापारसँगै नेपाली फिल्मको बजार विस्तारसमेत भइरहेको छ ।’ चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् । आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत् पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत् समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

निटफेस्टमा नाटक मञ्चनसँगै अन्तरक्रिया

काठमाडौं । यही मङ्सिर ९ गतेदेखि काठमाडौंमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नारा दिइएको महोत्सवमा आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’ र रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भयो । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात शरणार्थीका रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत गरिएको छ । यस्तै मञ्चन भएको दोस्रो नाटक कोन्द्रातोएभा क्रिष्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ थियो । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो । आइतबारै साँझ नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गरे । नाटकको चौँथो दिन आज भने दुई नेपाली प्रस्तुति मञ्चनसँगै कार्यशाला तथा प्यानल डिसकसन हुँदैछ । केही महिनाअघि मञ्चन भएको नाटक ‘खुवालुङ’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । नाटकसँगै ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला र ‘काठमाडौँबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुँदैछ । यसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तक्र्रिया गर्नेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।

विदेशमा नेपाली चलचित्रको बजार बढ्दै, नेपालमाभन्दा राम्रो व्यापार

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् । निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताए । ‘स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएको छ’, उनले भने, ‘मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।’ शत्रु गते, जात्रै जात्रापश्चात् अहिले ‘महापुरूष’ विदेशमा प्रदर्शन भइरहेका छन् । महापुरुष चलचित्रले अमेरिकामा तीन सयभन्दा बढी शो गरिसकेको छ भने अष्ट्रेलिया र युरोपका विभिन्न सहर, जापान, मध्यपूर्वी खाडीमुलुकमा समेत राम्रो व्यपार गरिरहेको छ । उल्लेखित देशमा अन्य विदेशी चलचित्र हेरिए झैँ हलमै पुगेर ‘महापुरूष’ पनि हेर्न सकिन्छ । संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताए । ‘समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी चलचित्रझैँ नेपाली चलचित्र पनि हलमा प्रदर्शन गरिरहेका छौँ’, उनले भने, ‘यहाँ स–परिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् । अहिले प्रदर्शन भइरहेको महापुरूषले नयाँ रेकर्ड बनाउँदैछ ।’ वितरक सुवेदीले नै कबड्डी ४, प्रेम गीत ३ जस्ता चलचित्रसमेत अमेरिकामा प्रदर्शन अधिकार लिएर वितरण गरेका थिए । नेपाली चलचित्रका लागि अष्ट्रेलिया, जापान, दक्षिण कोरिया पनि राम्रो मानिन्छ । अष्टेलियामा नेपाली चलचित्र प्रदर्शन गरिरहनु भएका रोशन भट्टराईले बजार बढेको बताए । ‘कोरोना भाइरसको महामारीपश्चात् नेपाली चलचित्रको बजार अष्ट्रेलियामा बढेको पाएको छु तर यो विश्वास जितिसकेका चलचित्र र निर्माताको हकमा मात्र लागू हुन्छ । विशेषत यहाँ जात्रा सिरिज, छक्का पञ्जा सिरिज र कबड्डी सिरिजको माग धेरै हुन्छ’, वितरक भट्टराईले बताए । एक समय विदेशमा प्रदर्शन अधिकार बिक्री गरेवापत पाइने रकमकै सेरोफेरोमा चलचित्र नबनेका होइनन् तर पछिल्लो समय यसमा नियन्त्रण हुन थालेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीनरूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताए । ‘विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ’, उनले भने । रासस