पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने
काठमाडौं । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसाद : भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने जानकारी लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दिए । अभिनेता विपिन कार्की शीर्ष भूमिकामा रहने चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र वर्षा सिवाकोटीको अभिनय रहनेछ । लेखक लामिछानेले नाम मात्रको शृङ्खला नभई अर्थपूर्ण र तर्कपूर्ण चलचित्र बन्ने बताए। ‘जहाँ सात वर्ष अगाडि चलचित्र सकिएको थियो त्यहीँबाट सुरू हुनेछ । यो समय भइरहेको परिवर्तनसँगै भष्मेमा आएको बदलावलाई देखाउने छौँ’, लेखक लामिछानेले भने । यसमा नीरज कँडेलले छायाङ्कन निर्देशन, कृष्ण थापाले छायाङ्कन, दीर्घ खड्काले सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालले सङ्गीतको काम गर्नेछन् ।
छक्कापञ्जा-४ को कमाइ १० करोड नाघ्यो, छड्के-२ फ्लप
काठमाडौं । नेपाल फिल्म छक्कापञ्जा–४ को कमाइ १० करोड रुपैयाँ नाघेकोछ । बिहीबारसम्मको कमाई १० करोड रुपैयाँ नाघेको बुझिएको छ । छक्कापञ्जा–४ ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । हाल १४० हलमा प्रदर्शन भइरहेको फिल्मले राम्रो कमाइ गरिरहेको छ । वितरक कम्पनी ब्यांकटेसले बिहीबारसम्म १० करोड बढी कमाइ गरेको बताएको छ । शुक्रबारको भने कमाइ सार्वजनिक भइसकेको छैन । अझै पनि हलहरुमा यो फिल्म हेर्नेको भीड नै छ । दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । यस्तै, सँगै पदर्शनमा आएको छड्के–२ भने फ्लप भएको छ । यो फिल्मले ३० लाख रुपैयाँ मात्रै कमाएको बुझिएको छ । ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै दर्शकसँग माफी मागेका छन् । नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा र युट्युबमा वाेएसआर डिजिटलबाट प्रसारण हुनेछ । हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।