गणेश पाण्डेको ‘को–हजबेण्ड’ फिल्मले जापानमा पायो एक करोड ३० लाख
काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंयाको सहयोग प्राप्त गर्न सफल भएको छ । फिल्मले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको हाे । गणेश पाण्डे निर्देशित को–हजबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपैंया बराबर)को फिल्म फण्डिङ जितेको हो । यसका साथै, को–हजबेण्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । ‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो ।’– निर्देशक पाण्डेले भने । निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ ।’– उनले भने । यसैगरी, को–हजबेण्डले आज नै क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेण्डले उत्कृष्ट पुरस्कार पाएको हो । ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो । यसअघि को–हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट को–हजबेण्ड निर्माण गरेका हुन् ।
विश्वकै उत्कृष्ट माइक जडान भएको ‘स्टुडियो २१’ सञ्चलानमा
काठमाडौं । काठमाडौंको अनामनगरमा ‘स्टुडियो २१’ सञ्चलानमा आएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘स्टुडियो २१’ औपचारिक रुपमा सञ्चालनमा आएको हो । भारतीय साउण्ड इन्जिनियर अमित जोशी, देवेन्द्र नेपाल, किरण सिंह थापा र मनोज डंगोलको संयुक्त लगानीमा ‘स्टुडियो २१’ सञ्चालनमा ल्याइएको हो । ‘स्टुडियो २१’बाट गीत रेकर्डिङ्ग, मिक्सिङ्ग मास्टरिङ्ग लगायतका म्युजिक सम्बन्धी काम गरिने सञ्चालक किरण थापाले जानकारी दिए । ८ महिनाको अथक प्रयासपछि बुधबारदेखि औपचारिक सञ्चालनमा आएपनि यसअघि आन्तरिक रुपमा काम गर्दै आएको थापाले बताए । ‘सीरुपाते जुङ्गा’ गीतका गायक बाबुल गिरीको संगितकार तथा एरेन्जमा चलचित्र ‘सिटामोल’का लागि ‘सलाम आमा बाबालाई’ बोलको गीत रेकर्डिङ्ग गरेर स्टुडियो २१ औपचारिक उद्घाटन गरिएको उनले बताए । पछिल्लो समय चर्चित गायक÷गायिका थानेश्वर गौतम, अञ्जु पन्त, अनु चौधरी, चक्र बम, निरुता खत्री, उमेश मुस्कान, सुमन ताम्राकार, नवराज कलौनी, पुष्पा बोहरा, टिका पुनले सो स्टुडियोबाट गीत रेकर्डिङ्ग गरिसकेको सञ्चालक थापाले बताए । निकै चर्चित थानेश्वर गौतमको ‘आलिमा भट्ट’, ‘पैसा खाउ’ लगायतका गीत ‘स्टुडियो २१’ बाट रेकर्डिङ्ग र मिक्सिङ्ग मास्टरिङ गरिएको थियो । सो रेकर्डिङ स्टुडियोमा विश्वैक उत्कृष्ट न्यूमन एम १४९ कम्पनीको माइक जडान गरिएको बताइएको । उक्त माइक जडान भएको नेपालको पहिलो स्टुडियो रहेको उनको दाबी छ । स्वर्गीय माइकल ज्याक्सन, लता मंगेश्वर, सोनु निगम, अर्जित सिंह लगायत विश्व प्रसिद्ध गायकहरुले समेत सो माइक प्रयोग गरी गीत रेकर्ड गरेको उनले बताए ।
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको नयाँ शाखा सञ्चालनमा
काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ । नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने जनाईएको छ । काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको उद्घाटन भने बैशाख १३ गते बुधबार हुनेछ । प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ । सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ । प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् । उनले थपे–‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं ।’ शाखाको उद्घाटन कार्यक्रममा सबैको उपस्थिति रहने जनाईएको छ ।