चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न अदालतकाे आदेश

काठमाडौं ।  उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो । चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछि केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका हुन् । उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।

नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले पायो भारतको तीन अवार्ड

काठमाडौं । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेको जानकारी दिए । ‘यसलाई मैले हाम्रो जितको रूपमा लिएको छु । यहाँ अब हामीलाई गर्ने विश्वास पक्कै बढ्ने छ’, निर्देशक सुवेदीले भने, ‘हाम्रो नाटक चाँडै नै मुम्बईको पृथ्वी थिएटर र एनीपीएमा मञ्चन हुने भएको छ ।’ भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट दशमा परेको थियो । छानिएका नाटक यही चैत ११ देखि १७ गतेसम्म दिल्लीमा मञ्चन भएका थिए । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटरको सहकार्यमा तयार भएको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्ट्स ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । निर्देशक सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)को हलमा मञ्चन भएको थियो । रासस

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन् । ‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारेका छन् । चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेनन् । ‘दर्शकले विश्वास गर्नुहुन्न की ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिए,’ अभिनेता कार्कीले भने । यद्यपि निर्माण भएको उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे । अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे । चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो । ‘चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।’ उनले प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन् । ‘प्रसाद’ कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए । ‘नामको विश्वास धान्ने काम गरेका छौँ । पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ’, उनले भने । जातीय विभेद र महिलामाथि हुने दुव्र्यवहारको घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । सुदर्शन थापाले निर्देशन गरेका चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । रासस