मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सन्चालन गरेर महिलाहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए । यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती स¥अफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो । कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन रोहित भट्टले गरेका हुन । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।

पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न

काठमाडौं । पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न भएको छ । काठमाडौंको तारागाउँ म्युजियममा १४ अगस्टबाट शुरु भएको सो पर्दशनी मंगलबार सम्पन्न भएको हो । पदर्शनीमा पि सिङका २५ वटा विभिन्न प्रकारका चित्रकलाहरु राखिएको थियो भने उनको छोरी रोश्ल्यान सिङको ५ वटा चित्रकला रहेका थिए । पि सिङको नेपालमा दोस्रो पटकको चित्रकला पदर्शनी हो । खानेकुरा, नेपाली पहिचान, प्रकृति, शहर र महिलाहरुको विभिन्न भूमिकाको प्रस्तुती झल्किने कलाकृतिहरु पदर्शनीमा शमावेश गरिएको थियो । पदर्शनीमा राखिएका मध्ये ७ वटा कलाकृति बिक्री भएको आर्टिस्ट पी सिङले बताए । पेशाले सफ्टवेयर इन्जिनियर रहेका पि सिङ डेढ दशक भन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनले पेशाको रुपमा नभएर आफ्नो सोंखको रुपमा चित्र बनाउने काम गर्दै आएका छन् । अहिलेसम्म ६० वटा कलाकृति बनाएको उनको भनाइ छ । सिङले अहिलेसम्म ४ वटा पदर्शनी गरिसकेका छन् । बेलायतमा ‘नेपाल यात्रा’को नामबाट पहिलो पदर्शनी शुरु गरेका सिङको ‘भ्रमण २०२२’ चौथो पदर्शनी हो । आफ्नो कला पदर्शनीको मुख्य उद्देश्य नेपालको गर्नु रहेको उनको भनाइ छ । यसपटक नेपालमा गरेको पदर्शनीबाट आफु निकै उत्साहित भएको बताउँदै उनले आगामी दिनमा थप विस्तारित स्वरुपको पदर्शनी गर्न आफु इच्छुक रहेको बताए । सिङको कलाकृति पदर्शनी कार्यक्रम ‘भ्रमण २०२२’ को आयोजना सेन्टर नेप्लिज कल्चरले गरेको थियो । पदर्शनीमा ३ सय भन्दा धेरै व्यक्तिले अवलोकन गरेको संस्थाका अध्यक्ष निर्मलकुमार थापाले बताए । बिक्रीको उद्देश्य पदर्शनीमा मुख्य नरहेकाले तुलनात्मक रुपमा सफल भएको थापाको भनाई छ ।

परिक्षा हलमै धमाधम टिकटक बनाउन थालेपछि…

काठमाडौं । साउन २८ अर्थात् गत शनिबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिइरहेको थियो । परीक्षा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको त्रिभुवन मा. वि.,बोराडाँडीमा भइरहेको थियो । परीक्षा हलमा सबै विद्यार्थीहरू लेख्नमै व्यस्त थिए । परीक्षा केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्म भने टिकटक बनाउन व्यस्त थिए । उनले टीककट बनाएको कसैले सुइको समेत पाएनन् । तर, जब उनले त्यो भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे त्यसपछि भिडियो भाइरल बन्यो । उनले परीक्षाको मर्यादा विपरित प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुईवर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गर्नकै लागि विद्यार्थीहरुले कक्षा कोठामा पनि भिडियो बनाउन थालेका छन् । भिडियो भाइरल हुन सक्ने रहरले उनीहरुले नियम विपरित भिडियो बनाइरहेका हुन्छन् ।