‘अर्को निर्वाचनमा जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नेगरी काम गरौं’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन् । रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने बताएका हुन् । आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सिमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । उपसभापति अर्यालले अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उल्लेख गरे । उनले निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको बताए । उपसभापति अर्यालले दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभुत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहप्रति भरोसा गरेर हालको जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टीका सबै सदस्यहरूको मेहनतले पार्टीलाई पहिलो बनाउनुपर्ने पनि बताए ।
पितृशोकमा रहेका अध्यक्ष ओलीलाई भेट्न राष्ट्रपति बालकोटमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गरे ।
रास्वपाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम मंगलबार सवा ११ बजे सुरु हुने भएको छ । रास्वपाका नवनिर्वाचित सांसद प्रतिभा रावलका अनुसार नवनिर्वाचित सांसदहरू आउने क्रम जारी रहेको छ । १८२ सिटको आधारमा सरकार गठनको तयारीमा जुटेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहितासम्बन्धी ज्ञान अभिवृद्धि गर्न दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको रावलले बताइन् । ग्वार्कोस्थित होटल रोयल टुलिपमा भइरहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने रावलले जानकारी दिइन् । रावलका अनुसार अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसँगै पार्टीले अघि सार्ने नीतिगत दिशाबारे विस्तृत प्रशिक्षण प्रदान गरिनेछ । अभिमुखीकरण कार्यक्रम आवासीय हुने रावलले जानकारी दिइन् । कार्यक्रममा मोवाइलसहित सञ्चारका साधनहरूलाई निषेध गरिएको छ ।