एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएका हो । एमालेले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायलाई समेटेर अन्तिम नामावली तयार पारेको छ । पार्टीले आदिवासी जनजाति क्लस्टरबाट ४ जनालाई सांसदका रूपमा चयन गरेको छ । जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन् । खस आर्य समूहबाट सबैभन्दा धेरै ५ जनाको नाम टुंगो लगाइएको छ । खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेकी पार्टीका केन्द्रीय सचिव पद्यमा अर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल सांसद बनेका छन् । अर्याल स्याङ्जा र हमाल लमजुङकी हुन् । खस आर्यकै पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराललाई चयन गरिएको छ भने सोही समूहको पुरुषतर्फबाट गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बनेका छन् । बैठकले थारु समुदायबाट १ जना पुरुष कृपाराम राणालाई सांसद बनाउने निर्णय गरेको छ । दलित कोटाबाट २ जना महिला सांसद छानिएका छन् । जसमा विष्णुमाया वीके र नीता घटानी रहेका छन् । मधेसी क्लस्टरबाट ३ जनाको नाम टुंगो लाग्दा २ महिला र १ पुरुष परेका छन् । मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बनेका छन् । मुस्लिम समुदायबाट १ जना महिला साजिदा सिद्दीकीलाई सांसदका रूपमा चयन गरिएको छ ।
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ । सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।
निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने
काठमाडौं । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज (शनिबार) नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।