मिडिया ट्रायल नगर्न सभापति लामिछानेको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई मन्त्री बन्न मिडिया ट्रायल नगर्न सुझाव दिएका छन् । पछिल्लो समय केही सांसदहरूले आफूलाई मन्त्री बनाउन दवाव दिनेगरी सञ्चारमाध्यममा बोलेकोमा लामिछानेले असन्तुष्टि पोखेका छन् । उनले अहिलेसम्म मन्त्रीहरूका बारेमा छलफल नगरेको बताएका छन् । छलफल नै नभएको विषयमा बाहिर बोल्नु पार्टी र मत दिने जनताको आशा विपरीत भएको लामिछानेले बताए । त्यसैगरी, उनले आफ्नो दलका सांसदहरूले सरकारी अस्पतालमा उपचार गर्नुपर्ने बताएका छन् । सरकारको डेलिभरीलाई चुस्तदुरुस्त बनाउन हामीले यो अभियान चलाउनु आवश्यक रहेको लामिछानेले जोड दिए । त्यस्तै, उनले पुराना नेताहरूले इतिहास लेखेको र आफ्नो दलले भविष्य लेख्ने दावीसमेत गरे ।। रास्वपा संविधान र इतिहासप्रति प्रतिबद्ध रहेको समेत उनको दावी छ । ‘यो जित रास्वपाको मात्रै होइन, यो जित त देशको जित हो । हामी पाँच वर्ष अत्यन्तै लगावका साथ काम गर्न तयार भएर आएका हौं,’ लामिछानेले भने । लामिछानेले राई, लिम्बुहरूको प्रतिनिधित्व गराउन नसकेकोमा माफीसमेत गरे ।
सुशीला कार्कीलाई दाहालले भने– ‘तपाईं नभएको भए देश दुर्घटनामा पर्थ्यो’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार आएका थिए । उनीहरूबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले भने, ‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’ उनले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई दिँदै अन्य नेताहरूलाई अर्कोपटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिए । संयोजक प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’ सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे । ‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौं । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौं,’ उनले भने । त्यस्तै, पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीमा सुशीला कार्की आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास आफूहरूलाई रहेको बताए । अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरूको भनाइ थियो।
निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरूप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् । मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन् । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि उपस्थित थिए ।