रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका सभापति लामिछाने शुक्रवार साँझ काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।  उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरे ।  भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल भएको सभापति लामिछानेले जानकारी दिए ।

राणा र प्रसाईं मिलेर पार्टी खोल्ने, मलमासपछि घोषणा

काठमाडौं । ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच नयाँ राजनीतिक दल गठन गर्ने औपचारिक सहमति भएको छ ।  बृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ दुई पक्षबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । शुक्रबार आज दुवै नेताहरूले हस्ताक्षर गरी जारी गरेको सम्झौता पत्रमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, वैदिक सनातन हिन्दू अधिराज्य र युवा तथा महिलाको ६० प्रतिशत सहभागिता रहने गरी नयाँ पार्टी घोषणा गर्नेसम्मका रणनीतिक बुँदाहरू समेटिएका छन् । सम्झौता पत्रको प्रस्तावनामा नेपालको भू-अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता र सभ्यतागत निरन्तरताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।  विदेशी प्रभाव र आन्तरिक विखण्डनविरुद्ध राष्ट्रलाई सुदृढ दिशा दिनु आजको प्रमुख आवश्यकता रहेको ठहर गर्दै संसद्‌मा किरात र बौद्धसहितको वैदिक सनातन हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि एक सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकतालाई आत्मसात् गरिएको पत्रमा उल्लेख छ । सहमतिका ११ मुख्य बुँदाहरू  १. सनातन हिन्दू अधिराज्य: नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको सनातन हिन्दू अधिराज्य। २. राष्ट्रवादि दर्शन: राष्ट्रिय एकताका प्रतिक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादि दर्शन। ३. सुधारमुखि संघीयता: राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी संघीयता। ४. दोहोरो नागरिकताको व्यवस्था: एक पटकको नेपाली सधैको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्ने व्यवस्था। ५. ऋण तथा सुकुम्बासी समस्या समाधान: लघुवित्त, सहकारी, बैंक र मिटरब्याजिबाट कालो सुचिमा पारिएका भुमिविहिन सुकुम्बासी नेपाली नागरिकको दिगो समस्या समाधान। ६. परराष्ट्र नीतिस् असंलग्न परराष्ट्र नीति । ७. सुशासन : सुशासन र भ्रष्टाचार मुक्त समाज । ८. अर्थतन्त्र: स्वदेशी उत्पादनमा आधारित मिश्रीत अर्थतन्त्र । ९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरुलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा १०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता ११. नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा छलफल गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहनेछन् । यसअघि नै मन्त्रालयले भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेको छ । प्रस्थानअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले नेपालका प्राथमिकता र समसामयिक विषयमा भारतसँग खुला संवाद हुने बताएका छन् । 'हामीले उठेका सबै विषयमा आपसी समझदारीका साथ छलफल गर्नेछौं,' उनले भने । भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाममा गहन छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनता–जनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित रहेर विचार–विमर्श हुने मन्त्रालयले जनाएको छ । यो भ्रमण नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताका रूपमा रहेको बताउँदै मन्त्रालयले यसबाट दुई देशबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेको छ ।