रविले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेता अनुपस्थित, हर्कको बहिस्कार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । सिंहदरबारमा आयोजित बैठकमा विभिन्न दलका प्रतिनिधिहरू उपस्थित भए पनि शीर्ष नेताहरु भने सहभागी नभएका हुन् । बैठकका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा लगायत दलका सभापति तथा अध्यक्षहरूलाई निमन्त्रणा गरिएको भए पनि उनीहरू स्वयं उपस्थित भएनन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेको तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर तथा नेकपा तर्फबाट पार्टीका सहसंयोजक माधवकुमार नेपाल सहभागी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन कुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरू बैठकमा अनुपस्थित रहे । यद्यपि दलहरूले आफ्ना प्रतिनिधिहरू पठाएर बैठकमा सहभागिता जनाएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि बैठकमा सहभागी भएनन् । उनले आफू पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले बैठकमा उपस्थित हुन नसकेको बताएका छन् । श्रम संस्कृति पार्टीको तर्फबाट समेत कुनै प्रतिनिधि बैठकमा उपस्थित भएका छैनन् । भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएपछि लामिछानेले समसामयिक राजनीतिक विषयमा प्रमुख दलहरूसँग संवाद र परामर्शका लागि बैठक आयोजना गरेका हुन् । रास्वपाका सभापति लामिछाने भारत भ्रमणपछि राजनीतिक संवादलाई तीव्र बनाउन खोजिरहेका बेला आयोजित यो बैठकले आगामी दिनमा दलहरूबीचको सम्बन्ध र सहकार्यको दिशा कस्तो बन्छ भन्ने विषयमा थप चासो उत्पन्न गरेको छ ।
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक, संसद्मा रहेका सबै दललाई निम्तो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सो बैठक आह्वान गरिएको हो । बैठक सोमबार (भोलि) बिहान ९ः०० बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ । उक्त सर्वदलीय बैठकमा सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ । बैठकमा सहभागी हुन प्रत्येक दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिहरूलाई अनुरोध गर्दै सूचनासहितको निमन्त्रणा पठाइसकिएको रास्वपाले जनाएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच समसामयिक राजनीतिक मुद्दाहरूमा घनीभूत छलफल गरी निकास पहिल्याउन यो बैठक महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
दिल्ली वार्ता सफल भएको परराष्ट्रमन्त्रीको दाबी, सीमा सुरक्षादेखि डिजिटल भुक्तानीसम्मका ३ घोषणा
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतीय समकक्षी डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा यस भ्रमणले नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरे । भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा व्यापार, आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र जनस्तरको सम्बन्ध अभिवृद्धि गर्नेलगायतका विषयमा गहन छलफल भएको थियो । सोही अवसरमा दुई देशबीच तीनवटा महत्त्वपूर्ण संयुक्त घोषणाहरू समेत गरिएका छन्, जसअन्तर्गत नेपालको एनसीएचएल र भारतको एनपीसीआईबीच अन्तरदेशीय भुक्तानी लेनदेनको औपचारिक सञ्चालन सुरु भएको छ । यसैगरी भारतको विकास सहयोगमा नेपालमा भूकम्पपछि पुनर्निर्माण गरिएका स्वास्थ्य क्षेत्रका ७२ र सांस्कृतिक क्षेत्रका १२ वटा परियोजनाहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ भने भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सह-निर्माणका लागि काठमाडौं विश्वविद्यालय र डिजिटल इन्डिया भाशिनी डिभिजनबीच समझदारी पत्रको घोषणा गरिएको छ । नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उच्चस्तरीय भेटवार्ता गरी नेपाल-भारत साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदान-प्रदान गरेका थिए । त्यसैगरी, इन्डिया फाउन्डेसनद्वारा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूमाथि प्रकाश पार्नुका साथै सहभागी प्रबुद्ध व्यक्तित्वहरूसँग ऊर्जा, व्यापार र सीमा क्षेत्रका साझा चासोका विषयमा अन्तक्र्रिया समेत गरे । स्वदेश फर्कनुअघि आजै बिहान उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको निरीक्षण गरी भारतमा नेपालीको हित रक्षाका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका थिए । यस भ्रमणले नेपालको सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त गर्दै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार पारेको मन्त्री खनालले दाबी गरे ।