रातो  मच्छिन्द्रनाथको भोटो देखाइयो (फोटो-फिचर)

ललितपुर । रातो  मच्छिन्द्रनाथको भोटो देखाइएको छ । आइतबार अपरान्ह ललितपुरको जावलाखेलमा भाेटो देखाइएको हो । भोटोजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ । गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौंथीसम्म चल्छ । भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पुर्‍याउने परम्पराअनुसार आजै त्यहाँ पुर्‍याइने ललितपुर महानगर प्रमुख महर्जनले जानकारी गराए । तस्बिरहरू :   

‘नालायक गृहमन्त्री राजीनामा दे’ नारासहित माईतीघरमा युवाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।  अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । 

ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा, जेठ मसान्तभित्र सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले जेठ १५ भित्रै काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । आयोजनाले फ्लाइओभर जेठ मसान्तभित्र सवारीसाधन चलाउन मिल्ने गरी काम भइरहेको जानकारी दिएको छ ।  यसै क्रममा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फ्लाइओभरको स्थलगत निरीक्षण गरेका छन् । उनले कामको प्रगति र गुणस्तरबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । फ्लाइओभर सञ्चालनमा आएपछि ललितपुरको ग्वार्को क्षेत्रमा देखिएको ट्राफिक जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।