पोर्चुगलमा स्याउ स्याउ टिप्न व्यस्त नेपाली (फोटोफिचर)
काठमाडौं । पोर्चुगलको स्याउ खेतीको इतिहास निकै लामो र समृद्ध मानिन्छ । विशेष गरी मिन्हो, ट्रास–ओस–मोंन्तेस र रिबाटेजो ई ओएस्टे क्षेत्रहरूमा स्याउ खेतीको पुरानो परम्परा पाइन्छ । यी क्षेत्रहरूको अनुकुल जलवायु र माटोले स्याउ उत्पादनलाई मजबुत बनाउँदै आएको छ । ऐतिहासिक विवरणअनुसार पोर्चुगलमा स्याउ खेती १२ औं शताब्दीको मध्यतिर शुरू भएको हो । अल्कोबासा क्षेत्रमा सिस्टरियन भिक्षुहरूले मठीय कृषि अभ्यासको रूपमा स्याउका बोट रोपेका थिए । त्यसै अभ्यासलाई आधार बनाउँदै स्याउ खेती विस्तार हुँदै देशको कृषि परम्परामा गहिरो रूपमा स्थापित भयो । सन् १९६० को दशकमा भने स्याउ खेतीमा औद्योगिकीकरण शुरू भएपछि उत्पादन मात्र नभई गुणस्तरमा पनि उल्लेखनीय सुधार आएको थियो । सन् २०२३ मा पोर्चुगलले करिब २९२.२३ मिलियन किलोग्राम स्याउ उत्पादन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा अलिकति वृद्धि हो । रिबाटेजो ई ओएस्टे क्षेत्रले कुल उत्पादनको करिव ४० प्रतिशत योगदान दिएको छ भने ट्रास–ओस–मोन्तेसले ३० प्रतिशत, बीरा लिटोरलले १३ प्रतिशत र बीरा इन्टेरियोले १२ प्रतिशतको योगदान दिएका छन्। स्याउ मुख्यतया अक्टोबरदेखि डिसेम्बरसम्म फल्छ, जस समयमा बजारमा ताजा स्याउ आपूर्ति हुने गर्दछ र किसानहरूले भण्डारण तथा निर्यातका लागि तयारी गर्छन् । स्याउ खेतीले पोर्चुगलको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । सन् २०२३ मा मात्रै पोर्तुगलले ७०.६९ मिलियन किलोग्राम स्याउ निर्यात गरेको छ भने ६४.७९ मिलियन किलोग्राम आयात पनि गरेको छ । यसले कृषकलाई रोजगारी सिर्जना गर्नुका साथै कृषि निर्यातमा महत्त्वपूर्ण स्थान दिलाएको छ । बजार मूल्य प्रतिकिलोग्राम एकदेखि दुई युरोसम्म हुने गरेको छ, जुन प्रजाति र गुणस्तरअनुसार फरक–फरक पर्छ । पोर्चुगलमा अहिले स्याउ टिप्न नेपालीहरु व्यस्त छन् । नेपाली र बङ्गाली कामदारसँगै पोर्चुगली किसानलाई स्याउ टिप्न भ्याई नभ्याई छ। हालैका तथ्याङ्क अनुसार पोर्चुगलको कृषि क्षेत्रमा मात्रै करिव ३० हजार नेपाली श्रमिक संलग्न रहेका छन् । उनीहरू प्रायः दक्षिणी क्षेत्रका ओडेमिरा, साओ टियोटोनियो र अल्मेइरिम जस्ता स्थानहरूमा स्याउ मात्र नभई बेरी, टमाटर, अंगुर तथा अन्य फलफूलको खेतीमा समेत व्यस्त रहेका छन् ।
निजी विद्यालय सञ्चालकले चक्रपथमा बससहित निकाले र्याली (तस्बिरहरू)
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा विद्यालय बससहित र्याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र गैरनाफामूलक भन्ने शब्द हटाउनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् । हालै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयक सच्याउन दबाब दिन उनीहरूले सडकमा उत्रिएका हुन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायतका निजी विद्यालय सञ्चालक संघ–संस्थाले संयुक्त रूपमा उपत्यकाको चक्रपथ क्षेत्रमा र्याली निकालेका हुन् । र्‍यालीमा सहभागी विद्यालयका पहेँला बसहरू चक्रपथको एक लेनमा लस्कर लागेका थिए । र्यालीका कारण केही स्थानमा अन्य सवारीसाधनको आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)
काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण सम्पन्न भएको छ । व्यापारिक घराना एमएस समूहको लगानीमा निर्माण भएको होटलको भौतिक पूर्वाधार सम्पन्न भएको हो । कुल एक अर्ब ८५ करोड रुपैयाँ लागतमा निर्माण भएको होटल अहिले आन्तरिक काम भइरहेको छ । यो व्यापारिक समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल निर्माण सम्पन्न गरेको हो । होटलका सञ्चालक शशीकान्त अग्रवालले अबको दुई साताभित्र होटल सञ्चालनमा आउने बताए । ‘होटलको निर्माण सम्पन्न भइसकेको छ, अहिले केही आन्तरिक काम बाँकी छ, अब छिट्टै होटल सञ्चालनमा आउँछ,’ उनले भने । उनका अनुसार अबको दुई साताभित्र होटल सञ्चालनमा आउनेछ । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोनाको कारण लागत अनुमानभन्दा बढेको बताए । जनशक्तिको लागत बढेकोले होटलकाे निर्माण लागत पनि बढेको उनको भनाइ छ । यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ । दुई रोपनी जग्गामा बनेको यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार लगायत सुविधा बनाइँदैछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुने बताएको छ । होटलमा कुल ११० वटा कोठा छन् । यस परियोजनामा ७३ करोड रुपैयाँ बैंक ऋण र १ अर्ब १२ करोड रुपैयाँ इक्विटी रहेको छ । एम एस ग्रुपको होटलसँगै स्टील, चिनी, रसायन, कागज, कपडा, रियल इस्टेट, बैंकिङ, बीमा तथा आतिथ्यसहितका क्षेत्रमा लगानी गरेको छ । इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलको नेतृत्व अध्यक्ष गौरव अग्रवालले गर्ने बुझिएको छ । उनी तीन दशकदेखि विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनी शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष पनि हुन् । यस कम्पनीका प्रबन्ध निर्देशक सुमित कुमार अग्रवाल रहेका छन् । उनले एमएमस ग्रुपअन्तर्गतका सम्पूर्ण होटलहरूको नेतृत्व गरिरहेका छन् । सम्पूर्ण निर्माण चरण सकिएपछिको सञ्चालन स्थिरता, पर्यटक आगमन दर र अक्युपेन्सी काम राख्न सक्ने क्षमता नै भविष्यको नाफा सुनिश्चित गर्ने आधार हुने कम्पनीको धारणा छ । त्यस्तै, काठमाडौं उपत्यकामा रहेका ठूलो संख्याका होटलबीचको प्रतिस्पर्धा, पर्यटन क्षेत्रको मौसमी उतारचढाव, र ब्याजदरको अस्थिरता पनि जोखिमका कारक मानिएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो कम्पनीलाई डबल बी प्लसको रेटिङ प्रदान गरेको छ । तस्बिर : नरेश बोहाेरा