ककनीको डाँडामा रातो चमक (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको नजिकै रहेको काकनी क्षेत्र यतिबेला स्ट्राबेरीको मिठासले राताम्य देखिएको छ । हरियाली पहाडका गराहरूमा लटरम्म फलेका राता स्ट्राबेरीहरूले कृषकहरूको दैनिकी फेर्नुको साथै जिल्लाको पर्यटनमा समेत नयाँ आयाम थपेका छन् । पछिल्लो समय ककनीमा केवल स्ट्राबेरी किन्ने मात्र होइन, खेतमै गएर आफ्नै हातले ताजा फल टिप्ने चलन पनि ह्वात्तै बढेको छ । तस्बिरहरूमा देखिएझैँ, काठमाडौंबाट पुग्ने युवायुवतीदेखि परिवारहरू समेत खेतका गराहरूमा पुगेर ताजा स्ट्राबेरी टिप्ने र तस्बिर खिच्ने काममा रमाउने गरेका छन् । यो ‘यु–पिक’  अर्थात आफैँ टिप्ने अवधारणाले यहाँको कृषि र पर्यटनलाई एकसाथ डोर्याइरहेको छ । बारीबाट भर्खरै टिपेर टोकरीमा भरिएका स्ट्राबेरीहरू उत्तिकै ताजा र आर्कषक देखिन्छन् । किसानले मेहनतका साथ उत्पादन गरेका स्ट्राबेरीहरूलाई तोलमेल गरेर प्याकेजिङ गरी ग्राहकको हातमा पुर्याउने प्रक्रियाले स्थानीय उत्पादनको बजारीकरणलाई सरल बनाएको छ । तस्बिरमा देखिएका हर्षित अनुहारहरूले यो खेतीमा उनीहरूको लगाव र व्यावसायिक सफलतालाई प्रष्ट पार्छन् ।  स्थानीय महिला तथा युवाहरूले घरायसी कामको साथसाथै स्ट्राबेरी खेतीलाई आम्दानीको राम्रो स्रोत बनाएका छन् । खेतमा काम गरिरहेका दृश्य र स्ट्राबेरीको बिक्रीबाट मिल्ने खुशीले यो खेती स्थानीय जीवनस्तर उकास्ने ठूलो माध्यम बनेको देखाउँछ । यहाँको हावापानी स्ट्राबेरीका लागि निकै अनुकूल मानिन्छ, जसले गर्दा यहाँ उत्पादित फल स्वादमा उत्कृष्ट हुन्छ । ककनी अब केबल चिसो र दृश्यका लागि मात्र होइन, ‘स्ट्राबेरीको स्वाद’ लिन आउनेहरूको रोजाइको गन्तव्य बन्दैछ । यदि तपाईं ताजा हावामा रमाउँदै आफ्नै हातले टिपेको स्ट्राबेरीको स्वाद लिन चाहनुहुन्छ भने, ककनीको यो पाखा तपाईंको लागि उत्तम गन्तव्य हुनसक्छ ।  

मनोहराको सुकुम्बासी बस्तीमा १२ वटा डोजर, सुरक्षाका लागि २ हजार प्रहरी परिचालन (फोटो–फिचर)

काठमाडौं । सरकारले भक्तपुरस्थित मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन आइतबार बिहानैदेखि डोजर चलाउन सुरु गरेको छ ।  आइतबार (आज) बिहान साढे १० बजेबाट सुरु भएको यो कारबाहीका क्रममा १२ वटा डोजर प्रयोग गरी घर(टहराहरू भत्काउने कार्य भइरहेको छ ।  सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सो क्षेत्रमा करिब २ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  अहिले सुकुम्बासी बस्तीका बासिन्दाहरू हतार-हतार आफ्ना सरसामान घरबाट बाहिर निकालिरहेका छन् भने प्रहरीले सामान निकालिसकिएका संरचनाहरूमा मात्र डोजर लगाएर भत्काइरहेको छ । यसअघि शनिबार पनि प्रशासनले सो बस्ती भत्काउने प्रयास गरेको थियो, तर स्थानीयको कडा प्रतिरोध र ढुङ्गामुढाका कारण प्रहरी टोली पछि हट्न बाध्य भएको थियो । हिजोको झडपमा केही प्रहरी कर्मचारीहरू घाइते समेत भएका थिए ।  शनिबार स्थानीयले बस्तीमा प्रवेश गर्न नदिएपछि आज ठुलो संख्यामा सुरक्षाकर्मी र डोजरसहित पुगेको टोलीले कडा सुरक्षा घेराका बीच बस्ती हटाउन सुरु गरेको हो । हाल सो क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज ​​​​​​​

धमाधम सर्दै गैरिधाराका सुकुम्वासी, डोजर चल्यो (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो ।  आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए ।  उनले भने, ‘यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।’ अभियानका क्रममा सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ।