बजेटको पर्खाइमा साना व्यवसायी (फोटोफिचर)

काठमाडौं । सरकारले प्रस्तुत गर्ने बजेटले ठूला व्यवसायीलाई मात्रै होइन स–साना व्यवसायीलाई पनि प्रभाव पर्छ । विशेषतः सरकारले सार्वजनिक गर्ने राजश्वका नीतिहरुले साना व्यवसायीलाई पनि प्रभाव पार्छ । व्यवसायीहरुले बिक्री गर्ने वस्तुको मूल्यलाई बजेटले दिशा निर्देश गर्छ । ती व्यवसायीले बिक्री गर्ने वस्तुको करलाई बजेटले तय गर्छ । त्यसैले पनि साना व्यवसायीहरुले बजेटलाई चासो दिने गरेका छन् । हामीले बजेट सार्वजनिक हुनु पूर्व काठमाडौंका विभिन्न ठाउँ पुगेर साना व्यवसायीहरुको तस्वीर लिएका छौं । उनीहरुले आफुहरुले बजेटलाई चासो दिने गरेको बताएका छन् । उसो त पछिल्लो समय अर्थतन्त्र एक किसिमको सकसमा छ । अर्थतन्त्रमा देखिएको सकसले ठूलासँगै साना व्यवसायीलाई पनि समस्या सिर्जना गरिरहेको छ । व्यापार व्यवसाय चलेको छैन । परिणाम स्वरुप व्यवसायीहरु दिनभर हाई काढेर बस्ने गरेका छन् भने मोबाइलमा अनेकन गेम खेल्दै दिन बिताउने गरेका छन् । कुनै बेला व्यवसाय गर्नका लागि सटर पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले जताततै टु लेट लेखिएका सटरहरु भेटिन्छन् । यसले पनि व्यवसायमा समस्या आएको बुझ्न सकिन्छ । किनमेलका लागि दैनिक सयौंको भीड लाग्ने असन, न्यूरोड, बसन्तपूर लगायतका ठाउँहरु अहिले सुनसान देखिन्छन् । व्यवसायीहरुले ग्राहक नआउँदा घरभाडा तिर्न पनि समस्या भइरहेको बताएका छन् ।

महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गर्दै बालेन (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको विद्यालय पुगेर निरीक्षण गरेका छन् । शुक्रबार मेयर बालेनले महानगरभित्रका सामुदायिक विद्यालयहरूमा पुगेर हरेक शुक्रबार हुने उक्त कार्यक्रमको निरीक्षण गरेका हुन् । बालेनले दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा निरीक्षणको लागि पुगेका थिए ।  ‘हामीले विद्यालयका शिक्षकहरूसँग स्रोतसाधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौं, यो निरीक्षणले विद्यार्थी र शिक्षकहरूसँग थप नजिक भएको महसुस भएको छ,’ उनले भने । मेयर बालेनले ‘शिक्षामा सिप’ कार्यक्रम आफ्नो घोषणा पत्रमा समेटेका थिए । महानगरले पुस्तकविहिन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्ने बालेन बताउँछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको उनले बताए ।

बालेनसँगै बदलिँदै काठमाडौं (फोटोफिचर)

काठमाडौं । तपाईंहरुले काठमाडौं बदलिएको अवस्थालाई कत्तिको महसुस गर्नु भएको छ ? यदि छैन भने काठमाडौंको पहिले र अहिलेको अवस्थाको स्वरूपलाई आँफै मनन् गर्नुहोस, तपाईंले महसुस गर्न सक्नुहुन्छ की बद्लिँदैछ काठमाडौं । पछिल्लो समय काठमाडौंको स्वरुपमा निकै परिवर्तन भइरहेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएर आएपछि काठमाडौं भित्रका धेरै विषयहरुमा सकारात्मक परिवर्तनको शुरुवात हुँदै गरेको देख्न सकिन्छ । प्राविधिक रुपमा इञ्जिनियर र र्याप गायन क्षमता बोकेका बालेन महानगरको मेयरको उम्मेदवार भएदेखि अहिलेसम्म निरन्तर चर्चाको शिखर छन् । मिडियालाई आफूसम्म प्रत्यक्ष पहुँच दिन नचाहने मेयर बालेन विभिन्न कामहरुको पहलकै कारण मिडियामा छाएका छन् । ७ सय ५३ वटा स्थानीय तह मध्ये विवादित तथा सकारात्मक काम दुबै हिसाबले देशमै बालेन अगाडि छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्नै लाग्दा उनले अगाडि सारेका कामले विस्तारै आकार लिन लागेको र काठमाडौं बद्लिँदैछ भन्ने आभास दिलाउन थालेको महसुस गर्न सकिन्छ । काठमाडौं भित्र दृश्य होस् या पूर्वाधार विकासको क्षेत्र हरेक हिसाबले काठमाडौं परिवर्तन हुँदै गरेको महसुस गर्न सकिन्छ । सरसफाइ, खुला फुटपाथ, पार्किङ व्यवस्थापन, होर्डिङ बोर्ड व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, हाइड्रेन्ट विस्तार लगायत धेरै क्षेत्रमा विगतको भन्दा अहिलेको काठमाडौंमा नयाँपन पाउन सकिन्छ । मेयर बालेन चुनाव अगाडि गरेका प्रतिबद्धता कम चर्चाको बीचबाट पूरा गर्ने कसरतमा जुटेका छन् । महानगरपालिकाको सेवा प्रवाह, विद्यालय शिक्षामा रुपान्तरण लगायतका क्षेत्रमा पनि मेयर बालेनले धेरै नै नयाँपनको शुरुवात गरिसकेका छन् । तर, हामीले यहाँ हामीले उनले पहल गरेका काठमाडौंको बाहिरी परिवेशका केही बद्लिँदै गरेका विषयहरुको बारेमा सचित्र प्रस्तुत गर्न खोजिरहेका छौं । फोहोर व्यवस्थापन काठमाडौंको फोहोर व्यवस्थापन सबै भन्दा ठूलो चुनौतीको विषय हो । बालेनले मेयरमा उम्मेदवारी दिँदा नै काठमाडौंको फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए । उनको एजेण्डामा फोहोरको सास्ती भोगेका काठमाडौंवासीले सुन्दर काठमाडौंको कल्पना गरेर साथ दिएका थिए । काठमाडौंको फोहोरको निरन्तर व्यवस्थापन गर्ने विषय अझैपनि चुनौतिपूर्ण नै छ । तर, महानगरसँग भएको जनशक्तिको उच्चतम प्रयोग गरेर बालेनले फोहोरलाई घर र सहरबाट समयमा नै उठाउने विषयलाई कार्यान्वयन गरेका छन् । जसले गर्दा हामीले काठमाडौंका सडकमा विगतमा जस्तै फोहोरको डंगुर देख्नुपर्ने अवस्था छैन । फुटपाथ व्यवस्थापन सहरी योजना विना निर्माण भएको काठमाडौंमा सहज फुटपाथ कायम गर्ने कुरा आँफैमा चुनौतिपूर्ण विषय हो । हजारौं व्यवसायीहरु जीवन जोडिएको अव्यवस्थित फुटपाथ व्यवस्थापनमा मेयर बालेन निर्मम भएर प्रस्तुत भए । फुटपाथमा अव्यवस्थित ढंगले व्यापार गर्ने र पेशेवर माग्नेहरुलाई महानगरले बल प्रयोग गरेर हटाउने कामको शुरुवात गर्यो । बल प्रयोगको विषयलाई लिएर बालेनले निकै आलोचना समेत खेप्नुपर्यो । जसकारणले सर्वसाधारण मानिसहरु आवतजावत गर्न नै नमिल्ने फुटपाथहरु अहिले खुला भएका छन् । यद्यपी काठमाडौंमा भविष्य खोजेर दुरदराजबाट आएकाहरुको दुःखसँग काठमाडौं नभएको प्रश्न भने कायम नै छ । रत्नपार्क क्षेत्रमा अव्यवस्थित ढंगले फुटपाथमा रहेको भवन भत्काएर बनाइएको नयाँ संरचना अव्यवस्थित पार्किङलाई व्यवस्थित राजधानी सहितको महानगर भएकाले काठमाडौंभित्र चल्ने सवारी साधनको संख्या पनि निकै बाक्लो रहेको छ । सवारी साधनको संख्या बाक्लो मात्रै छैन, उचित पार्किङको व्यवस्था समेत नरहेको छ । व्यवसायीहरुको परम्परागत तरिकाको व्यवसायसँग समेत जोडिएको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने विषय मेयर बालेनको लागि निकै चुनौतिपूर्ण रहेको थियो । किनकी यस अघिका मेयर विद्यासुन्दर शाक्यले पार्किङलाई व्यवस्थित गर्नुको सट्टा मिलेमतोमा पार्किङको काम व्यवसासायीलाई जिम्मा लगाएका थिए । मेयर बालेनले आफ्नो कार्यकाल शुरुवात भएको केही समयबाट नै निजी क्षेत्रका अन्डरग्राउन्ड पार्किङलाई कार्यान्वयनमा ल्याउने, सडकमा अव्यवस्थित पार्किङ गर्न नदिने र कतिपय स्थानमा पार्किङ क्षेत्र निर्माण गर्ने काम गरे । जसले गर्दा अहिले काठमाडौंका सडकहरु खुला र यातायात सञ्चालनको लागि सहज बनेका छन् । अव्यवस्थित पार्किङ हटाउने विषयमा व्यवसायीहरुकै आन्दोलनको सामना गरेर पनि मेयर बालेन पछाडि नहट्दा मेयर बालेन सफल हुँदै गएका छन् । भृकुटीमण्डप प्रदर्शनी मार्गमा अव्यवस्थित पार्किङ हटाएपछिको दृश्य अनधिकृत संरचना हटाइयो काठमाडौंको एउटा मुख्य ठूलो र पूरानो समस्या हो सार्वजनिक क्षेत्र मिच्ने र त्यस ठाउँमा आफ्ना निजी संरचना निर्माण गर्ने काम । मेयर बालेनले महानगरभित्र अनधिकृत ढंगले सार्वजनिक क्षेत्र मिचेर बनाईका र मापदण्ड विपरित बनाइएका संरचनालाई हटाउने कामलाई अभियानकै रुपमा अगाडि बढाएका छन् । मैतीदेवीमा सडकमा बनाइएको प्रहरी बिट हटाएपछिको अवस्था अहिलेसम्म धेरै ठाउँमा यस्ता काम सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा महानगरले अझैपनि सो अभियानलाई जारी राखेको छ । कतिपय संरचनाको विषयलाई लिएर अदालतमा मुद्दा परेको अवस्था छ । तर, यी सबै प्रकारका अवरोधका बाबजुद सार्वजनिक क्षेत्र मिचेर बनाइएका घर, सार्वजनिक भवन, प्रहरी बिट जस्ता संरचनाहरु महानगरले हटाउने काम गरेको छ । जसले गर्दा सडक र चोकहरु विस्तारै अवरोधविहिन बन्दै गएका छन् । मापदण्ड विपरितको संरचना हटाइएपछिको काठमाडौं मल अगाडिको दृश्य होडिङ बोर्ड हट्यो केही समय अगाडिसम्म काठमाडौं होडिङबोर्ड मय थियो । होडिङबोर्डको कारणले कसैको घरको कलाकृति र आकार नै देख्न सकिँदैनथ्यो । तर बालेनले कानून अनुसार होडिङ बोर्डको साइज कार्यान्वयनको शुरुवात गरेर पूराना भद्दा होडिङ बोर्डहरु महानगरको प्रहरी नै परिचालन गरेर हटाउने काम गरे । महानगर प्रहरीद्वारा मापदण्ड विपरितका साइनबोर्ड हटाउँदै जसले गर्दा आज काठमाडौंका घरहरुले आफ्नो स्वरुप पाएका छन् भने महानगरले होडिङ बोर्डबाट कर आम्दानी पनि गर्न थालेको छ । फायर हाइड्रेन्ट जडान सहर सँधै नै धेरै प्रकारका जोखिमहरुसँग जोडिएको हुन्छ । त्यो मध्ये एउटा जोखिम हो आगलागी । अव्यवस्थित तार र अन्य धेरै कारणहरुले काठमाडौंका धेरै क्षेत्रमा आगलागीका घट्ना हुने गरेका छन् । काठमाडौं महानगरले चालु आर्थिक वर्षमा महानगरको अधिकांश स्थानमा आगो नियन्त्रणमा लिन सकिने हिसाबले फायर हाइड्रेन्ट निर्माण गर्ने काम गरेको छ । यसलाई महानगरले अभियानकै रुपमा अगाडि बढाएको छ । जसले गर्दा भविष्यमा हुनसक्ने आगलागीको घट्नाबाट हुनसक्ने क्षतिको जोखिमलाई घटाउने काठमाडौं गल्ली अथवा आगजनी हुँदा दमक नपुग्ने ठाउँमा फायर हाइड्रेन्ट जडान गरिएको छ । महागरले केही ठाउँमा फायर हाइड्रेन्टको जडान गरेको हो । यस्ता फायर हाइड्रेन्टको जडान अझै धेरै ठाउँमा जोड्ने योजना महानगरको छ । अव्यवस्थित तार पनि हटाइँदै अव्यवस्थित तार काठमाडौंलाई कुरुप बनाउने एउटा महत्वपूर्ण विषय हो । लामो समयदेखि चर्चामा रहने गरेको तर, समाधानको पहल नगरिएको सो विषयलाई मेयर बालेनले कार्यान्वयनको लागि पहल अगाडि बढाएका छन् । काठमाडौंमा अव्यवस्थित तारको दृश्य मेयर बालेनको पछिल्लो निर्णयसँगै तारको माध्यमबाट सेवा प्रवाह गर्ने कम्पनीहरु पनि आफ्नो तार व्यवस्थित गर्ने दिशामा अगाडि बढेका छन् । अव्यवस्थित तारको व्यवस्थापन गरेपछि काठमाडौंले विस्तारै आफ्नो पहिचानको मार्ग समात्न सक्ने अनुमान गरिएको छ । सो सँगै काठमाडौंमा आगलागीको जोखिम पनि न्यून भएर जान्छ । अन्य तस्बिरहरु