काठमाडौं उपत्यकामा रहेका मानिसको घरको कथा (फोटो फिचर)
लेलेमा परम्परागत गुठी घर । काठमाडौं । मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ । तर, पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको बिषय बनेको छ । घाम, पानी, हावा–हुरी जंगली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भएपनि मानिसले घर बनाउन थालेको धेरै भयो । काठमाडौंको सुन्ताथानमा रैथाने घर । नेपालमा वाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरुको संस्कृति र मौलिक घर एवं बस्तीहरु हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ । विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरुलाई आकर्षण गराएको छ । पर्यटकहरुलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् । काठमाडौंको पेप्सीकोलामा पृथ्वीको नक्सा अंकित घर । शहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरु प्रशस्त छन् । साथै आफ्नो रुची, हैसियत अनुसार उपत्यकामै पनि घरहरुका अकार, रङ, शैली फरक फरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै । नेपालमा भित्रिने वाह्य पर्यटकहरु मौलिक संस्कृति, भेषभूषा रहन सहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन् । ललितपुरको धोविघाटमा बनाइएको अत्याधुनिक घर । मौलिकता र सुन्दरताका हिसावले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरु ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास शहरमध्ये १० औं नम्बरमा थियो । तर, अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ । जसकारण सबैले मौलिक घरलाई छोड्दै त्रंmकिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको शहरको रुपमा परिचित छ । ललितपुरको बडिखेलमा शिशाको प्रयोगबाट बनाइएको घर । उपत्यकाका केही भित्रि बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ । मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् । पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनःउजागर गर्न सबै एक हुन जरुरी छ । अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरु शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् । अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरको घर बन्न थालेका छन् । यद्यपी काँठ क्षेत्रमा भने अझैपनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरु भने कतै भेटिने गर्छन् । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।
ढकमक्क अलकापुरी नगरी (फोटो फिचर)
काठमाडौं । आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौंप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रुप देखाएको छ । वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । धुँवाधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ । काठमाडौं उपत्यकाका सडक किनारमा फुलेका फूलहरुले जो कोहीलाई पनि मोहित पार्छ । डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले । बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।। डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली । गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।। राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौंको वैशाखको फूलैफूलको शहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ । वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौंका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् । अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ । वसन्त ऋतुको शुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ । राजधानी काठमाडौंका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महशुस हुँदैन । सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरुसँग रमाइरहेका हुन्छन् । काठमाडौंका सडकहरुमा यतिबेला विभिन्न प्रजातिका फूलहरु फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल