उर्लियो बागमती, युएन पार्क करिडोर क्षेत्र डुबानमा (तस्बिरहरू)
काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेको छ । बागमती नदीमा पानीको बहाब बढ्दा ललितपुरको युएन पार्क क्षेत्रको बागमती नदी किनाराका संरचनाहरू डुबेका छन् । युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । त्यहाँ पार्क गरेका राखिएका मोटरसाइकल पनि डुबेका छन् । यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ। काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।
अविरल वर्षाका कारण विराटनगर जलमग्न (तस्बिरहरू)
काठमाडौं । अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् । हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । त्यसपछि महानगर र कोशी प्रदेश सरकारले बाढी रेस्पोन्स टिम गठन गरेर राहत, पुनःस्थापनाको काम सुरु गरेको थियो । अहिले पनि पुनः विराटनगरवासीले सोही नियति भोग्नुपरेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा सुुरु भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरु प्रभावित हुने गरेका छन् ।
दोस्रो दिन पनि महानगरविरूद्ध कबाड व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगर विरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णय विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । कबाड व्यवसायीहरुले सोमवार पनि माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । कबाड व्यवसायीहरुले प्रदर्शनमा छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गरजस्ता नारासहित प्लेकार्ड समेत प्रदर्शन गरेका हुन् । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ । कबाड व्यवसायलाई बिस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् । महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।