अविरल वर्षाका कारण विराटनगर जलमग्न (तस्बिरहरू)

काठमाडौं । अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् । हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । त्यसपछि महानगर र कोशी प्रदेश सरकारले बाढी रेस्पोन्स टिम गठन गरेर राहत, पुनःस्थापनाको काम सुरु गरेको थियो । अहिले पनि पुनः विराटनगरवासीले सोही नियति भोग्नुपरेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा सुुरु भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरु प्रभावित हुने गरेका छन् ।

दोस्रो दिन पनि महानगरविरूद्ध कबाड व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगर विरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णय विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । कबाड व्यवसायीहरुले सोमवार पनि माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । कबाड व्यवसायीहरुले प्रदर्शनमा छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गरजस्ता नारासहित प्लेकार्ड समेत प्रदर्शन गरेका हुन् । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ । कबाड व्यवसायलाई बिस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् । महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।  

विराटनगरभन्दा काठमाडौंमा बढी गर्मी, सर्वसाधारणलाई सास्ती

  काठमाडौं । पछिल्ला केही दिनमा काठमाडौं उपत्यकासहित देशभरि गर्मी बढेको छ । काठमाडौं उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता बढेको काठमाडौंको उखरमाउलो गर्मीबाट सर्वसाधारणले सकस महसुस गरिरहेका छन् । घरबाट काममा निस्किनेहरू चर्को घाममा हिँड्नुपर्दा पसिनाले निथ्रक्क भिजिरहेका हुन्छन् । काठमाडौंको उखरमाउलो गर्मीबाट सबैभन्दा बढी सकस भोगिरहेकामा खुला आकासमुनि काम गर्ने श्रमजीवी वर्ग रहेका छन् । खेतबारीमा काम गर्ने किसानदेखि, इँटाभट्टामा काम गर्ने, दैनिक ज्यालादारीमा बाहिर काम गर्ने मजदुरले बाध्य भएर गर्मी सहिरहेका छन् । त्यसपछि सार्वजनिक यातायात प्रयोग गर्ने आमसर्वसाधारणले सबैभन्दा बढी गर्मी सहनुपरिरहेको छ । त्यसबाहेक आफ्नै दुई पाङ्ग्रे सवारीसाधन हुने पनि अहिलेको गर्मीमा बढी सकसमा देखिन्छन् । तर, आफ्नै चार पाङ्ग्रे गाडी हुनेहरू भने घरबाट बाहिर निस्किँदा पनि गाडीभित्र ‘एयर कन्डिसन’ (एसी) हुने भएका कारण राहत महसुस गरिरहेका छन् । अत्यधिक गर्मी भएकै कारण आर्थिक पक्ष केही सबल भएकाहरू घरमा एसी जडान गर्नतिर लागेका भेटिन्छन् भने त्यसभन्दा कम आय भएकाहरू पंखा किन्न बजार पुगिरहेका भेटिन्छन् । बाटोमा हिँड्दा हिँड्दै गर्मी सहन नसकेपछि कोल्ड स्टोर, खुद्रा पसल वा डेरी पसल छिरेर चिसो पेय, बरफ, आइसक्रिम लगायत खानेको भीड पनि ठाउँ–ठाउँमा देख्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आज बुधबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसबीच रहने बताए । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । जबकि हिजो मंगलबार विराटनगरमा भने अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौंमा मापन गरिएको तापक्रम विराटनगरको भन्दा बढी हो । मंगलबार सबैभन्दा बढी धनगढीमा तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । यस दिन नेपालगञ्जको तापक्रम ४३.६ डिग्री रहेको थियो । ४० डिग्रीभन्दा माथि तापक्रम भएको अर्को स्थान वीरेन्द्रनगर थियो, जहाँ ४०.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । गर्मीका कारण मानिसको जनजीवन प्रभावित भएको छ । वैशाख मसान्तमा काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता भने यहाँको तापक्रम लगातार बढ्दै गइरहेको छ ।  तस्बिरहरू : सौगात पुडासैनी