दशैंघरमा राखियो जमरा, गुर्जुपल्टनमा नित्य पूजा, बन्दुक पड्काएर बढाईं

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन बिहीबार घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैंघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत बिहान ९ः१६ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाईं गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहीबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । सो अवसरमा गुर्जु पल्टनका गुल्मपति सेनानी अनिल श्रेष्ठले घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आएको र सबैको घरहरूमा जमरा बिहीबार राखिएको बताए । उनले हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने प्रचलनअनुसार पूजा गरी जमरा राखिएको बताए । उनले भने, ‘घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आइएको छ । सबै घरहरुमा जमरा राख्ने गरिुन्छ । हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने गरेका छौँ ।’ त्यस्तै पण्डित सुवास कोईरालाले आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र सुरु हुने र बिहीबार दैत्यमाथि देवीले विजयी पाएको अवसरमा दशैंको पहिलो दिन जमरा राखिएको बताए । देवीको प्रिय वस्तु जौ भएकाले जौको जमरा राखिएको बताए । जौको मात्रै जमरा राख्नुपर्ने भएपनि जौ, गहुँ, धान, मकै पनि छर्ने गरिएको जानकारी दिए । उनले भने, ‘आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुन्छ । दैत्यमाथि देवीले विजयी पाएको दिनमा आजबाट नवदुर्गाको पूजा गरिन्छ । जौ, गहुँ, धान, मकै पनि छर्ने चलन छ ।’ नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।            

दशैंका लागि सुकिला नोट साट्न सर्वसाधारण पुगे राष्ट्र बैंक (तस्बिरहरू)

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गरेकाे छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्न लागेकाे हाे । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेकाे राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण नगर्ने भएको हो ।  

पहिलो स्याउ मेला असाेज १७ गतेदेखि सुरु, यस्ता छन् परिकार (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा स्याउ मेलाको आयोजना गरिने भएकाे छ । मंगलबार ठमेलको होटल मनाङमा गरिएकाे पत्रकार सम्मेलनमा असाेज १७ गतेदेखि स्याउ मेलाकाे आयाेजना हुने जानकारी दिइयाे । होटल मनाङकाे सहकार्यमा किसान भेन्चरले स्याउ मेलाकाे आयाेजना गर्न लागेकाे हाे । आयोजकका अनुसार याे नेपालको पहिलो स्याउ मेला हो । मेला तीन दिन चल्नेछ । नेपाल किसान भेन्चरकी अपरेसन मेनेजर मेलीना राईले नेपाली स्याउलाई प्रवर्द्धन गर्न मेलाकाे आयाेजना गरेको बताइन् । उनले भनिन्,  ‘कतिपय हामी नेपाली जनतालाई नै थाहा छैन- नेपालमा कस्तो स्याउ फल्छ भनेर । नेपालमै राम्रो स्याउ फल्दाफल्दै पनि विदेशबाट आयात भइरहेको छ । नेपाली स्याउकाे प्रवर्द्धन गर्न स्याउ मेलाकाे आयाेजना गरेका हाैं । ‘ स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभाेक्ता, आपूर्तिकर्ता र उद्याेग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनू यस मेलाकाे मुख्य उद्देश्य रहेकाे राईले जानकारी दिइन् । मेलामा स्याउ उत्पादनदेखि बजारसम्म पुर्‍याउन कृषकले भाेग्नुपरेका चुनाैतीहरू पनि उजागर गरिने उनले बताइन् । स्याउ मेलाकाे मुख्य नारा ‘याे दशैं स्याउसँग मनाऊँ’, खुसी बाँडाैं, स्वस्थ खानेकुरा खाऔं’ रहेकाे छ । मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकाेटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनीमा राखी बिक्री गरिने आयाेजकले जनाएकाे छ । मेलामा एप्पल क्रीस्पी, एप्पल पाई, एप्पल ब्रेड, पियोर एप्पल जुस र एप्पल खम्बुच्चा लगायतका परिकारहरू पनि प्रस्तुत गरिनेछ । गत असारमा किसान भेन्चरले प्रथम आँप मेलाकाे आयाेजना गरेकाे थियाे । यी हुन् स्याउ मेलामा प्रस्तुत गरिने परिकारहरू: