वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा (येँया)को रौनक शुरु भएको छ । आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेको हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि भने औपचारिक रुपमा इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

विशाल बिल्डिङ, कंक्रिटको काठमाडौं (फोटोफिचर)

काठमाडौं । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीब्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा विकास भएको देखिन्छ । अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौँ मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पूरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ । पूरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं सहरलाई कंक्रिटको सहर भनिएको होइन । पूरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो । तर, अहिले कंक्रिटको पहाड बनेको छ । तस्बिर न्यूज एजेन्सी नेपाल  

नेप्से प्राङ्गणमा १२ सय किलोको ‘बुल’ निर्माण हुँदै, फोटो फिचर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्राङ्गणमा बुलको संकेत जनाउने साँढेको प्रतिमा तयार हुँदैछ । सेयर बजारमा बुल अर्थात् बढेको बजारलाई साँढेले र बियर अर्थात् घटेको  बजारलाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्राङ्गणमा बन्ने भएको हो । उक्त बुल ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । उनका अनुसार बुल ६ सय केजीको बन्नेछ । ‘यसको उचाइ ८ फिट र लम्बाई १२ फिट हो,’ उनी भन्छन्, ‘६ सय केजीको बनाउने भनिएको हो तर काम गर्दै जाँदा दोब्बर अर्थात् १२ सय केजीसम्मको बन्ने जानकारी कालिगढहरूले हामीलाई दिएका छन् ।’ पराजुलीले उक्त प्रतिमा दशैं अगाडि नै निर्माण सक्ने गरी काम भइरहेको बताएका छन् । उक्त बुल धलोट (पहेलो देखिने धातु) बाट निर्माण भइरहेको उनले बताए । उनका अनुसार हाल सो बुल ललितपुरका कालिगढले निर्माण गरिरहेका छन् । बुल निर्माण मात्रै छुट्टै ‘प्रोजेक्ट’ नभएको उनी बताउँछन् । बुल निर्माण नेप्सेको पुरानो भवन भत्काउन, गाडेर्न बनाउन, नेप्सेको गेट बनाउन, नेप्से सप्लाई हुने बत्तीको काम लगायतका सबै काम एउटै प्रोजेक्ट रहेको उनले बताए । उनका अनुसार सो प्रोजेक्ट १ करोड ४८ लाखमा ठेक्का लागेको हो । बुल निर्माण पनि सोहीअन्तर्गत रहको पराजुलीले जानकारी दिए । बुल निर्माण गरिरहेका कालिगढका अनुसार भने ७० प्रतिशत काम सम्पन्न भएको छ । दशैं अघिसम्म नै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको कालिगढले पनि बताएका छन् । ‘साँढेको माथिल्लो भाग जोड्न बाँकी छ’, कालिगढले भने, ‘पूरै साँढेको पिस जोडिएपछि त्यसलाई सफा गरेर पोलिस गरिन्छ र त्यसपछि फिनिसिङ गरेपछि मात्रै बल्ल काम पूरा हुन्छ ।’ काम अगाडि नै सकिनु पर्ने भए पनि बुल बनाउने काम निकै कठिन भएकाले त्यो काम पूरा हुन केही समय लागेको नेप्सेका प्रवक्ता पराजुलीले बताएका छन् ।