तिहारका लागि भक्तपुरका कुमाले पाला बनाउन व्यस्त (फोटोफिचर)

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदाय पाला बनाउन व्यस्त छन्। आकर्षक माटोको भाडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन । यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जबाट समेत माग हुँदै आएकाे छ । भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाे एक स्थानीयले जानकारी दिए । विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्थे । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ । तस्बिरहरू:  

ढकमक्क मखमली, फूल टिप्न र माला उन्नमा व्यस्त किसान (फोटोफिचर)

काठमाडौं । भक्तपुरका गाउँमा मखमली फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा गरिएको मखमली फूलखेतीले त्यहाँका फाँटहरू राताम्मे देखिएका छन् । भक्तपुरका गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा व्यावसायिक फूलखेती भइरहेको छ । तिहार नजिकिँदै जाँदा व्यावसायिक फूलखेती गर्नेहरूले माला बनाउन सुरु गरिसकेका छन् । मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि त्यहाँका अधिकांश किसानमात्रै नभइ अन्य क्षेत्रका मानिस पनि जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । किसानहरूले दिनमै डेढ लाखको व्यापार हुने गरेको बताएका छन् । फूलको व्यापार क्रमशः बर्सेनि घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाका कारण किसानसँग व्यापारीहरूको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरूलाई फर्काइदिने गरेको किसानले गुनासाे गरे । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरूको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको उनीहरूकाे भनाइ छ । सूर्यविनायक नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको छ । तस्बिरहरू:

१० रोपनी १४ आना जग्गा दान कि घुस ? (फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्वीयू क्रान्तिकारीले एमाले पार्टी कार्यालयका लागि सहयाेग संकलन सुरु गरेकाे छ । विद्यार्थी संगठनले कर छलेकाे पैसाले नभई जनताको पैसाले पार्टी कार्यालय बनाऊ भन्दै रु १ सहयाेग संकलन गरेकाे हाे । अनेरास्वीयू क्रान्तिकारीले प्रदर्शनीमार्गमा आइतबार प्रदर्शन गर्दै सहयाेग संकलन सुरु गरेकाे हाे । प्रदर्शनकाे क्रममा विद्यार्थीहरूले ‘तपाईं जनताकाे प्रधानमन्त्री कि भ्रष्टाचारीकाे ?’,  ‘एक अर्बकाे भवन, मदन भवन कि मीन भवन?’, ‘भ्रष्ट एमालेलाई सकाउनुपर्छ’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेकाे केन्द्रीय कार्यालय बनाउन जग्गा उपलब्ध गराएका थिए । साेही विषयलाई लिएर एमालेकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । व्यवसायी गुरुङले केन्द्रीय कार्यालयका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन् । पार्टी कार्यालय निर्माणका नाममा जग्गा दानमा लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । एमालेले भने व्यवसायी गुरुङ आफ्नाे कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी नगर्न आग्रह गरेको छ ।