पशुपतिमा तीजको रौनक (फोटो–फिचर)

काठमाडौं । आज हरितालिकाका तीज । यसैको अवसरमा सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । व्रतालुहरूको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको थियो । लाइनमा बसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् । तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयम्‌सेवक खटाइएको कोषले जनाएको छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ । तस्बिरहरू  :

ग्यासका लागि घण्टौँ लाइन, सिलिण्डरमै बसेर कुर्दै नागरिक (फोटो फिचर)

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्याह्न पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा सयौँ मिटर लामो लाममा उभिएका थिए– हातमा रित्तो रातो सिलिण्डर बोकेका आम नागरिकहरू । न अनुहारमा छाँटकाँट थियो, न शरीरमा आराम । थियो त केवल एउटै चिन्ता– ‘आज साँझ घरको चुल्हो बल्छ कि बल्दैन ?’ बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार अगाडि आन्तरिक राजस्व कार्यालय र बैंकका एटीएम बुथहरू रहेको साँघुरो सडक सोमवार मानिस र ग्यास सिलिण्डरको विशाल संगम बनेको थियो । लामबद्ध उभिएका मानिसहरूको हातमा नेपाल ग्यास, एसटीीलगायत कम्पनीका रित्तो रातो सिलिण्डरहरू थिए । घाम चर्किंदै जाँदा उभिन नसकेर थकित नागरिकहरू आफ्नै रित्तो सिलिण्डरमाथि नै बसेर पालो कुरिरहेका देखिन्थे । कतिपयले नीलो, कालो र बुट्टेदार छाता ओढेर चर्को घामको राप छल्ने निष्फल प्रयास गरिरहेका थिए भने कतिपय रूखको थोरै छहारी वा पर्खालको ओझेलमा पसिना पुछ्दै पर्खिरहेका थिए । लाइनमा उभिएका एक युवाले गहभरि आँसु पार्दै भने, ‘बिहानै आएर बसेको हुँ । अफिसमा बिदा लिएँ, तलब काटिन्छ । तर घरमा तीन दिनदेखि ग्यास सकिएर चाउचाउ र बिस्कुटको भरमा छौँ । यस्तो चर्को घाममा भोकै–तिर्खै लाइन बस्नुबाहेक हामी गरिब जनतासँग अर्को के विकल्प छ र ?’ तातो सडकमा घण्टौँ कुर्नु नागरिकको रहर होइन, भोकले सुकेको चुल्हो बाल्ने एकमात्र विवशता हो । ग्यास वितरण केन्द्रमा भीड यति अनियन्त्रित थियो कि सुरक्षाकर्मीहरू लाम मिलाउन र गेट बन्द गरेर व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो । मानिसहरू टोकन र रसिद देखाउन गेटमा झुम्मिएका थिए । जहाँ सयौँ एलपी ग्यासका सिलिण्डरहरू चर्को घाममा एकै ठाउँमा थुप्रिएका थिए । कम्पनीका प्रतिनिधिहरू कापी र कलम लिएर नाम दर्ता गर्दै टोकन बाँड्दै थिए । तर ग्यास बोकेको ट्रकको क्षमता सीमित थियो र पालो पर्खनेहरूको लाम अनन्तजस्तै देखिन्थ्यो । ‘ट्रकको ग्यास सकिएला कि’ भन्ने डरले नागरिकहरूको अनुहारमा बेचैनी प्रस्ट झल्कन्थ्यो । घण्टौँको मानसिक र शारीरिक सास्तीपछि जब कसैको हातमा भरिएको नयाँ सिलिण्डर पर्दथ्यो, त्यो दृश्य हेर्नलायक हुन्थ्यो । त्यो केवल १४.२ किलो ग्यास र १५ किलो फलामको सिलिण्डर मात्र थिएन, त्यो त आफ्ना भोका सन्तानलाई तातो भात खुवाउन पाउने खुसी थियो । संघीय राजधानीकै सडकमा एक सिलिण्डर ग्यासका लागि नागरिकले दिनभर पसिना बगाउनुपर्ने यो दृश्यले राज्य सञ्चालकहरूको संवेदनहीनतालाई नङ्ग्याइदिएको छ । बालाजुको सडकमा देखिएको यो कारुणिक दृश्य कुनै नौलो भने होइन । जब–जब आपूर्ति प्रणालीमा गडबडी हुन्छ वा कालोबजारी मौलाउँछ, त्यसको प्रत्यक्ष मारमा यस्तै निर्दोष, श्रमजीवी र आम नागरिक पर्ने गर्छन् । नागरिकले कर तिरेका छन्, सिलिण्डरको पूरा मूल्य तिरेका छन् । तर बदलामा उनीहरूले पाइरहेका छन्, चर्को घामको राप, सुरक्षाकर्मीको लाठीको त्रास, र सडकमा अपमानित भएर घण्टौँ बस्नुपर्ने विवशता । सम्बन्धित निकाय र नेपाल आयल निगमले तुरुन्तै ग्यास आपूर्तिलाई पारदर्शी र टोल–टोलमा सहज बनाउनुपर्छ । नागरिकको चुल्हो बल्नबाट रोक्ने यो चरम लापरवाहीको जवाफदेहिता कसले लिने ?

लामबद्ध नागरिक भन्छन् - दिनभर कुर्दा पनि ग्यास पाएनौँ (फोटो फिचर)

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि पाँच स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो । निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ । बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ । निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन् । बिहानैदेखि ठूलो संख्यामा उपभोक्ता लाइनमा रहेको उनले जानकारी दिए । निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ । बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिन सक्ने व्यवस्था गरिएको छ । बबरमहल केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले जानकारी दिए । निगमले अहिलेको ग्यास संकटका कारण ग्यास डिपोसँगको समन्वयमा ग्यास वितरण गर्न सहजीकरण गरेको जनाएको छ । ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ । ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताए । निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । बबरमहलमा ग्यास लिन बसेका सेवाग्राहीले लामो समयसम्म लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् । लाइनमा बसेर ग्यास लिने पालो आए पनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरूको भनाइ छ । यद्यपि, ग्यास आउने आशामा आफूहरू दिनभर कुरेर बसेको उपभोक्ताले बताएका छन् । निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।