पोखराको खास्टे र न्युरेनी ताल (फोटो फिचर)

काठमाडौं । लेखनाथ क्षेत्रका सात तालहरूमध्ये चरा संरक्षण र प्राकृतिक सौन्दर्यको विशिष्ट केन्द्र हुन् खास्टे र न्युरेनी ताल । जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ । पोखरा महानगरपालिका वडा नम्बर २६ मा अवस्थित खास्टे र न्युरेनी ताल यतिबेला आन्तरिक तथा वाह्य पर्यटकको स्वागतका लागि आतुर छन् । पर्यटकीय राजधानी पोखराको पूर्वी प्रवेशद्वार लेखनाथ क्षेत्रमा रहेका सात तालहरूमध्येका यी दुई अमूल्य प्राकृतिक गहना हुन् । फेवा र बेगनास तालको चर्चा देश–विदेशमा चुलिए पनि पोखरा–२६ मा अवस्थित खास्टे र न्युरेनी ताल भने प्रचारप्रसार र आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेका छन् । खास्टे ताल विशेष गरी ‘चरा अवलोकन क्षेत्र’ को रूपमा चिनिन्छ । यहाँ जाडो महिनामा साइबेरिया, मंगोलिया र उत्तरी ध्रुवबाट हजारौं माइल पार गरेर बसाइँ सरेर आउने पानीचराहरूका कारण यो क्षेत्र निकै रोमाञ्चक देखिन्छ । रैथाने र आगन्तुक गरी यहाँ झन्डै एक सय भन्दा बढी प्रजातिका चराहरू भेटिने पंक्षीविद्हरू बताउँछन् । तर संरक्षणको अभावमा कतिपय क्षेत्रहरू जलकुम्भी झारले ढाकेका छन् भने ताल अतिक्रमणको चपेटामा पनि परेको छ । खास्टे तालको ठीक पूर्वमा रहेको न्युरेनी ताल सानो भएपनि यसको प्राकृतिक र जैविक अवस्था अझै मौलिक र शान्त छ । घना हरियाली डाँडाहरूको बीचमा लुकेको यो तालमा पुग्दा मानिसले कोलाहलपूर्ण शहरी जीवनबाट पूर्ण मुक्ति पाउँछ । यहाँको कञ्चन पानीमा अन्नपूर्ण हिमशृंखलाको प्रतिबिम्ब देखिनु यसको मुख्य विशेषता हो । रैथाने माछाका प्रजातिहरू, जलचर प्राणी र सिमसार वनस्पतिले न्युरेनी ताललाई प्राकृतिक अनुसन्धानको पाठशाला नै बनाएको छ । स्थानीय बासिन्दा र खास्टे–न्युरेनी ताल संरक्षण समितिले समय–समयमा सफाई अभियान र माछा पालन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । पोखरा महानगरपालिकाले पनि ताल वरपर पैदलमार्ग निर्माण र संरक्षणका केही योजनाहरू अघि सारेको छ । तर यी योजनाहरू कछुवा गतिमा चल्दा तालले पाउनुपर्ने पर्यटकीय महत्व पाउन सकेको छैन । प्राकृतिक सौन्दर्य र सिमसार पर्यावरणका पारखीहरूका लागि यी तालहरू साँच्चिकै एउटा नयाँ र सुन्दर गन्तव्य हुन सक्छन् ।

कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ताको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरू सोमबार काठमाडौंमा भेला भई प्रदर्शनमा उत्रिएका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनका क्रममा बचतकर्ताहरूले ‘कर्णाली बैंक घोटालाका दोषीलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ तथा ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् । साथै, दोषीमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।   

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवादका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिको विरोधमा त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै क्याम्पस परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।  प्रदर्शनका क्रममा विद्यार्थीले राष्ट्रियताको रक्षा र सीमा सुरक्षाको माग गर्दै विभिन्न नाराहरू लगाएका थिए । उनीहरूले ‘हाम्रो भूमि हाम्रो शान, ज्यान दिन्छौँ दिन्नौँ दान’, ‘ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्शा पनि नरहला जस्तो छ’ र ‘राष्ट्रियतामाथि प्रहार सहँदैनौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  विद्यार्थीले प्रधानमन्त्रीको अभिव्यक्तिले वीर पुर्खाहरूको बलिदानको अपमान गरेको ठहर गर्दै उक्त कदमप्रति माफी माग्न माग गरेका छन् । साथै, लोकतन्त्रमा प्रधानमन्त्रीको पदीय मर्यादा र जिम्मेवारीको स्मरण गराउँदै प्रदर्शनकारीहरूले ‘यो लोकतन्त्र हो प्रधानमन्त्री, र्याप र जोकतन्त्र होइन’ भन्दै आलोचनासमेत गरेका छन् ।  तस्बिरहरु : अनुप प्रधान