तुइनको साहारामा स्याप्रुबेसी (फोटोफिचर)

रसुवा । प्रकृतिले बेलाबखत सिर्जना गर्ने विपत्तिहरू मानिसको जीवनका लागि कति कष्टकर बन्छन् भन्ने कुराको ज्वलंत उदाहरण बनेको छ रसुवाको स्याप्रुबेसी । गत भदौ १० गते आएको विनाशकारी बाढीले स्यार्पुबेसी बजार र सदरमुकाम धुन्चे बजार जोड्ने एक मात्र पक्की पुल बगाएपछि यस क्षेत्रको जनजीवन ठप्प भएको छ । पुल बगाएको २० दिनसम्म दुवैतर्फको आवतजावात पूर्ण रूपमा बन्द हुँदा स्थानीय बासिन्दाहरू आफ्नै थातथलोमा थुनिन बाध्य थिए । 

आमाछोदिङ्मो गाउँपालिका र गोसाइकुण्ड गाउँपालिकालाई जोड्ने यो व्यापारिक तथा आवतजावातको प्रमुख पुल नै बाढीले बगाउँदा आवातजावत बन्द भएको छ ।
  
सम्पर्क टुटिसकेको २० दिनको लामो अन्तरालपछि, अहिले सोही स्थानमा नेपाल आर्मीको सक्रियता र सशस्त्र प्रहरी बलको सहयोगमा तुइन निर्माण गरिएको छ । तुइन सञ्चालनमा आएसँगै ठप्प बनेको जनजीवन केही हदसम्म चलायमान बन्न थालेको छ ।

अहिले यसै तुइनको जोखिमपूर्ण सहारामा वारिपारि गर्नेहरूको लर्को लाग्न थालेको छ । बाढीका कारण लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाएकाहरूका लागि यो तुइन पुनर्मिलनको माध्यम बनेको छ । 

त्यति मात्र होइन, आपतकालीन अवस्थाका बिरामीहरूलाई अस्पतालसम्म पु¥याउन र एकले अर्को गाउँका खबर आदानप्रदान गर्न यो तुइनको साहारामा लिइरहेका छन् । 

भदौको बाढीले रोजगारी र दैनिक गुजारा समेत खोसिएपछि आमाछोदिङ्मो गाउँपालिकाका युवाहरू महिनौं दिनदेखि अलपत्र परेका थिए । खानसमेत नपाएपछि उनीहरूले अन्ततः ज्यान जोखिममा राखेर यही तुइनको साहारा लिएर काठमाडौँतर्फ फर्किन बाध्य भएका छन् ।

तुइन बनेपछि मानिसहरूको पैदल आवतजावातमा केही सहजता आए पनि यो दीर्घकालीन समाधान भने होइन । सशस्त्र प्रहरी बल नेपालले तुइनको माध्यमबाट मानिसहरूलाई सुरक्षित रूपमा वारिपारि तार्ने गरिरहेको भए पनि यसले मात्रै सम्पूर्ण समस्याको हल गर्न सकेको छैन । 

वैकल्पिक व्यवस्थाको रूपमा तुइन त बन्यो, तर यसबाट दैनिक उपभोग्य वस्तु, खाद्यान्न र निर्माण सामग्रीहरू ढुवानी गर्न असम्भवप्राय छ । तुइनबाट सामान बोकाएर ल्याउने सम्भावना निकै कम हुने हुँदा यस क्षेत्रमा अझै पनि उचित राहत र खाद्यान्न पुग्न सकेको छैन । 

स्याप्रुबेसीमा मानिसको जीवन सहज बनाउन अब तुइनले मात्र पुग्दैन, यहाँ तत्काल बेलिब्रिज निर्माण गर्नुको अर्को विकल्प छैन । तर, विडम्बना, स्थानीय बासिन्दाले यति ठूलो सास्ती भोगिरहँदा पनि स्थायी समाधानका रूपमा बेलीब्रिज निर्माणका लागि सम्बन्धित निकायबाट कुनै पनि ठोस पहल हुन सकेको छैन । 

तस्बिर : नरेश बोहरा । 

nullnullnullnullnullnullnullnullnullnullnullnull
 

Share News