प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त
काठमाडौं । प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्की नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कार्कीले नियुक्त भएको दिनदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल, बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव
काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । नवनियुक्त कामु सीईओ लम्सालले केन्द्रिय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने बताएका छन् ।
एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् । आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । आफूले लिएको जिम्मेवारी पूरा गरेर छोड्ने र मनमा लागेको कुरा प्रष्ट बोल्ने खड्का सफल बैंकर्सको रुपमा परिचित छन् । उनी एनसीसी बैंकमा मर्ज हुनुपूर्वको इन्टरनेशल डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका खड्काले ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । खड्कासँग दुई दशक भन्दा बढी विभिन्न बैंकमा काम गरेको अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरु गरेका खड्काले एभरेष्ट बैंक, तत्कालित एनआईसी बैंक, सनराइज बैंकमा विभिन्न पदमा रहेर बैकिङ सेवा गरेका थिए । इन्टरनेशल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी बैकिङ क्षेत्रबाट बाहिरिएका थिए । हाल उनी शुभलक्ष्मी सिमेन्ट प्रालिको प्रबन्ध निर्देशक छन् । खड्काकाे नियुक्तीसँगै एनसीसी बैंककाे सञ्चालक समितिले पूर्णता पाएकाे छ । दुइ साताअघि सम्पन्न भएकाे साधारणसभाले एनसीसी बैंक संचालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा र सुमन जोशी सर्वसम्मत निर्वाचित गरेकाे थियाे । सञ्चालक समितिबाट न्याैपाने सर्बसहमतिमा अध्यक्ष भएका छन् । यस बैंकमा पहिलाे पटक सर्बसहमतिमा सञ्चालक समिति गठन भएकाे र सर्ब सहमतिमा बिज्ञ सञ्चालक पनि नियुक्त भएकाेले बैंक आगामी दिनमा एक ढिक्का भएर अगाडि बढ्ने विश्वास गरिएकाे छ ।