इन्फिनिटी लघुवित्तको सीईओमा ज्ञानीश्वर पन्त नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्याकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन् । उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ । 

एनएचआरसीको अध्यक्षमा डा. नारायण विक्रम नियुक्त

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा. नारायण विक्रम थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अगामी चार वर्षका लागि डा. थापालाई  अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।   यसअघिका अध्यक्ष डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई नियुक्त गरेका हुन् । डा. थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष समेत भएका थिए ।  

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकले एक सूचना जारी गर्दै गत जेठ १३ गतेदेखि लागू हुने गरी आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको हो । नयाँ भूमिकासहित अब आनन्दले नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृत दुवै जिम्मेवारी सम्हाल्नेछन् । बैंकले विकास आनन्दको नेतृत्वमा बैंकिङ सेवा प्रवाह अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू विस्तार गरेको छ ।