सफाइ पाएपछि टेलिकमकी प्रबन्ध निर्देशक अर्यालको पुनर्बहाली

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाल भएकी छन् । उनीमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि सरकारको निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरिएको हो ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय २०८३ असार २६ गतेको निर्णयअनुसार अर्याललाई प्रबन्ध निर्देशकको जिम्मेवारीमा पुनर्बहाल गरिएको नेपाल टेलिकमले जनाएको छ ।

पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा इमानदारीपूर्वक काम गर्न कर्मचारीहरू डराउन नपर्ने बताइन् । उनले विगतमा कर्मचारीमाथि लागेका आरोप र फैलिएका भ्रम अन्ततः सत्यका आधारमा हटेको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई निरन्तर नेतृत्व र सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन् ।

अर्यालले कम्पनीमा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राखिने बताउँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारवालाको अपेक्षालाई समेत ध्यानमा राखेर काम गरिने स्पष्ट पारिन् । नेपाल सरकारको नीति र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख अझ मजबुत बनाउने तथा सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

नेपाल टेलिकमले गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा देशको दूरसञ्चार क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका अझ प्रभावकारी ढंगले निर्वाह गर्दै जाने जनाएको छ ।

Share News