भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । निमित्त निर्देशकका रुपमा अस्पतालमा काम गरिसकेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । चालिसे लामो समय देखी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा चालिसेलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अब उनी चार वर्षसम्म अस्पतालको नेतृत्व गर्नेछन् ।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डाअशोककुमार क्षेत्रीले जानकारी दिए । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा लिएका थिए । बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह–रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।
भायानेटको स्वतन्त्र सञ्चालकमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त
काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका क्षेत्री भायानेटको सञ्चालक समितिको निर्णयअनुसार बोर्डमा आबद्ध भएका हुन् । क्षेत्रीले आफ्नो करियर सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए। उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एसियाको विभिन्न वरिष्ठ जिम्मेवारी सम्हालेका थिए भने जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनले सन् २०२० मा ग्लोबल आइएमई बैंकको सीईओबाट अवकाश लिएका थिए । कम्पनीले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढीको अनुभवले भायानेटको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।