लक्ष्मी लघुवित्तको सीईओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रेष्ठ नियुक्त भएका छन् । लघुवित्तको सीईओ प्रकाशराज शर्माको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सुन्दर प्रसाद श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । सीईओ शर्माको कार्यकाल बैशाख १७ गते सकिने भएपछि श्रेष्ठले बैशाख १८ गतेदेखि लघुवित्तको सीईओको कार्यभार सम्हाल्ने छन् । श्रेष्ठलाई आगामी ४ वर्षको लागि लघुवित्तको सीईओमा नियुक्त गरेको बताइएको छ । लक्ष्मी लघुवित्तमा विगत १० वर्षदेखि कार्यरत श्रेष्ठ हाल नायव महाप्रबन्धक छन् । लघुवित्त क्षेत्रमा २० वर्षको अनभुव सँगालेका श्रेष्ठले निर्धन उत्थान लघुवित्तबाट आफ्नो करियर सुरु गरेका हुन् । उनीसँग विकास बैंकमा काम गरेको पनि अनभुव छ । लघुवित्त क्षेत्रमा साढे ३ दशकभन्दा बढी काम गरेका शर्मा आगामी दिनमा पनि यहि क्षेत्रमा नै सक्रिय रहने बताउँछन् । साढे ४ दशक बैंकिङ्ग क्षेत्रमा काम गरेका शर्मा लघुवित्त संस्थाहरुको संस्थापक मध्येमा पर्छन् । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत रहेका शर्मा आगामी दिनमा पनि लघुवित्त क्षेत्रको विकास, विस्तारको लागि सक्रिय रहने बताउँछन् । तर, कार्यकारी भूमिकामा भने नरहने उनले बताए । ‘अब कार्यकारी तहमा बसेर सक्रिय नभएपनि वित्तीय क्षेत्रमा कलम चलाउने, लबिङ गर्ने, मेरो अनुभव, ज्ञानलाई आदान प्रदान गर्ने काम गर्छु,’ उनले भने ।

मन्जुश्री फाइनान्सको डिसीइओमा तेज राज तिमिल्सिना नियुक्त

काठमाडौं । मन्जुश्री फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ)मा तेज राज तिमिल्सिना नियुक्त भएका छन् । फाइनान्सको बुधबार बिहान बसेको संचालक समितिको बैठकले तिमिल्सिनालाई डिसीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । तिमिल्सिना यसअघि रिलायन्स फाइनान्समा सहायक महाप्रबन्धक रहेका थिए । त्यसअघि उनले एनआइसी एशिया, सिद्धार्थ बैंकमा लामो समय काम गरेका थिए ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष थिए । उनी तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक थिए। क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुन् । माण्डवी गाउँपलिका प्यूठानमा जन्मनुभएका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक थिए । उनले कानुनमा स्नातक गरेका छन् ।