विरेन्द्र महतो सांसद भएपछि उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले डा.महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । डा. महतो गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत हुन् । डा.महतो नेपालका एक सफल उद्यमी पनि हुन् । साथै सोही बैठकले बैंकका निर्वतमान अध्यक्ष डा.विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ । मंसिर ४ गते भएकाे निर्वाचनमा  डा.विरेन्द्र महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महताे सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद भएपछि बैंक तथा वित्तीय संस्थाकाे अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था छ । साेही कारण विरेन्द्र महताेले बैंककाे अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । डा. वीरेन्द्र प्रसाद महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उपेन्द्र र वीरेन्द्र दाजु भाइ हुन् । भाइले राजीनामा दिएपछि दाइ माछापुच्छ्रे बैंककाे अध्यक्ष भएका हुन् ।

प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषका महेश खनाल

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुन् । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए ।

निफ्राको लेखापरीक्षकको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को लागि श्री एमजीएस एण्ड एशोसियटस्, चार्टर्ड एकाउण्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई मंसिर १० गतेसम्पन्न बैंकको चौंथो वार्षिक साधारण सभाले स्वीकृत गरेको छ । यससँगै सो कार्यको लागि निजको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । उक्त पारिश्रमिक कर सहित भएको बैंकले जानकारी गराएको छ ।