नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी दिएको हो । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए । उनले आफ्नो कार्यकाल सकिनुअघि नै राजिनामा दिएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो । निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका हुन् । कोरोना बीमाको दावी भुक्तानीको विषयमा भएको विवादका कारण घिमिरेले स्वच्छिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त, कम्पनी नयाँ उचाई पुग्ने

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रेग्मी नियुक्त भएका छन् । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ । पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् । काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङ्गमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आइएमई पेका अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । स्वागत कार्यक्रममा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलसहित ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल

काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक बन्सललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापक सेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बी.आई.) ले बन्सललाई मनोनित गराएर पठाएको हो । यसअघि उक्त पदमा सोही बैंकको तर्फबाट राजिब अरोराले प्रतिनिधित्व गर्दै आएका थिए ।