चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो उपकुलपति

काठमाडौं । रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेको हो ।  जसमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत खत्री नियुक्त भएका छन् भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धी पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजन कुमार रोकाया नियुक्त भएका हुन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाय

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा. रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन् । मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् । 

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक औपचारिक समारोहमा शपथ गराएका हुन् । मंगलबार दिउँसो बानियाँलाई प्रदेश प्रमुख देवकोटाले बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा संयुक्त सरकार गठनको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेश सभामा दुवै पार्टी मिलेर ६४ सांसदको बहुमत हासिल भएकाले बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । बानियाँअघि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् ।