एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले शपथ लिएका छन् ।बिहीबार अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले आजकै मितिदेखि लागू हुने गरी उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समयदेखि कार्यअनुभव हासिल गर्दै सफल नेतृत्व प्रदान गर्दै आएका छन् । उनले मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्ने तथा संस्थालाई सफलताको थप उचाइमा पुर्‍याउँदै प्रतिष्ठाको नयाँ शिखरमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए राजेन्द्र भट्टराई

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजेन्द्र भट्टराई बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका भट्टराई वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । विमलराज खनाल अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवातर्फको एउटा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त रहेको थियो । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार भट्टराईलाई ईडीमा बढुवा गर्ने निर्णय भएको मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए । भट्टराईलाई वित्तीय संस्था व्यवस्थापन विभागको जिम्मेवारी प्रदान गरिएको छ । अर्घाखाँचीका राजेन्द्र भट्टराई वि.सं २०५३ चैत २७ गते सहायक पदबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । कार्यकारी निर्देशकमा बढुवा भएसँगै उनी राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि दाबेदार बनेका छन् । 

नेरूडे मिर्मिरे लघुवित्तको सीईओ बने केशव पौडेल, ३ दशक बढीको अनुभव

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्त संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  नवनियुक्त सीईओ पौडेलसँग लघुवित्त क्षेत्रमा ३ दशक काम गरेको अनुभव छ । निर्धन उत्थान लघुवित्तमा व्यवस्थापकीय तहमा २२ वर्ष काम गरेका पौडेलले इन्फिनिटि लघुवित्त, कालिका लघुवित्त र सबैको लघुवित्तमा सीईओको भूमिका निर्वाह गरिसकेका छन् ।  भोजराज बस्यालको कार्यकाल सकिएपछि लघुवित्तमा सीईओ पद रिक्त थियो । बस्यालको विसं २०८२ साउन मसान्तमा पदावधी सकिएको थियो । उनको कार्यकाल सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहूलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । तर, उनले गत मंसिर २४ गते स्वेच्छिक अवकाशमा बिदा भएपछि सहायक प्रमुख कार्यकारी अधिकृत ऋषि प्रसाद न्यौपानेलाई कामु सीईओ जिम्मेवारी तोकिएको थियो ।