गणेश कार्की मौरिससको अवैतनिक वाणिज्य राजदूत

काठमाडौं । उर्जा व्यवसायी गणेश कार्की अफ्रिकन मुलुक मौरिससकाे लागि अवैतनिक वाणिज्य राजदूतमा नियुक्त भएका छन् । उनलाई हिजो नेपालको परराष्ट्र मन्त्रालयले नियुक्ती पत्र हस्तान्तरण गरेको छ । पश्मिना, गार्मेन्ट हुँदै हाइड्रो व्यवसायमा जमेका कार्की स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था (इप्पान) का उपाध्यक्ष समेत छन् । कार्की सिंगटी खोला हाइड्रोपावरकाे कार्यकारी निर्देशक हुन् भने पिपुल्स हाइड्रोपावर, क्रिम हाइडेल, बैधिक हाइड्रो इन्भेष्टमेन्ट, बेनी हाइड्रो पावर लगायत जलविद्युत परियोजनाका प्रवर्द्धक हुन् । मौरिसस अफ्रिकन सामुन्द्रिक देश हो । विश्व बैंकका अनुसार यस देशमा करिव १३ लाख जनसंख्या रहेको छ । २ हजार किलोमिटर क्षेत्रफल भएको सानो देश भएपनि समूद्रको बीचमा रहेकोले अफ्रिकाको अर्थतन्त्रकाे केन्द्रविन्दुमा रहेकाे छ। मौरिससमा ५१ प्रतिशत मानिस हिन्दु धर्मालम्बी छन् । सन् १५०७ मा समुद्रको बीचमा फेलापरेको यो देशमा ७० प्रतिशत मानिस भारतीय मुलका छन् । यस देशका नागरिकले सेरोज, भोजपुरी र फ्रेन्च भाषा प्रयोग गर्दछन् । उखु उत्पादन, फिल्म सुटिङ र उच्चस्तरका पर्यटकका लागि चर्चित मौरिससमा विश्वका सफल सिनेकर्मीहरुले घरबार बसाएका छन् । मौरिसस र नेपालबीच यसै वर्ष श्रम सम्झौता भएको छ । नेपालबाट ५० हजार श्रमिक लैजाना मरिससले प्रस्ताव गरेको छ । २ देशबीचकाे मैत्रिपूर्ण सम्बन्ध बलियाे बनाउँदै आर्थिक सम्बन्ध विस्तारमा आफूले भूमिका खेल्ने नवनियुक्त अबैतनिक राजदूत कार्कीले विकासन्युजलाई बताए । ‘गणतन्त्र मौरिससका राष्ट्रपति महामहिम पृथ्वीराजसिं रुपुनद्वारा जारी मिति ४ जुन, २०२० को समादेश पत्रमार्फत काठमाडौं उपत्यकामा अवस्थित हुने गरी श्री गणेश कार्कीलाई अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ बमोजिम मौरिससको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै नेपाल सरकारको तर्फबाट यो अनुमति जारी गर्दछु’ परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेको नियुक्तिपत्रमा भनिएको छ ।

पुर्नबीमा कम्पनीमा रमेश लम्साल नियुक्त

  काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई बोर्डमा नियुक्त गरेको स्रोतले बतायो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा बढी जीवन बीमा क्षेत्रमा सक्रिय लम्साल बीमा एशोसिएटसिप डिग्री हासिल गर्ने पहिलो नेपाली हुन् । लम्सालको नियुक्तीसँगै पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा सरकारी प्रतिनिधि कोटा सकिएको छ । यसअघि मन्त्रालयले रमेश रानालाई सञ्चालकमा पुर्ननियुक्ती गरेकाे छ भने अर्थ मन्त्रालयकै सहसचिव यमलाल भुसाल सञ्चालक समितिमा छन् । पुर्नबीमा कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ताको हैसियतले अर्थमन्त्रालयले अध्यक्ष पनि आफै तोक्दै आएको थियाे । तर हाल भने भुसाललाई काम चलाउ अध्यक्षको जिम्मेवारी मात्र तोकिएको अर्थमन्त्रालय स्रोतले बतायो । कम्पनी ऐन अनुसार सञ्चालक समितिले अध्यक्ष चयन गर्नु पर्नेहुन्छ ।

आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, पहिलो वर्ष नै ३४० करोडको लक्ष्य

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले फुयाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । फुयाललाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने बोर्डको निर्णयमा बीमा समितिले पनि सहमति दिएकाे छ । बीमा समिति सम्वद्ध स्राेतकाे अनुसार आज बीमा समितिले स्वीकृत दिएकाे हाे । फुयाल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए । जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको रुपमा उनलाई कम्पनीले लिएको छ । चालु आर्थिक वर्षमा नै १५० प्रतिशतले व्यवसाय विस्तार गर्ने संकल्पसहित फुयालले आईएमई लाइफको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको स्रोतले बतायो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकाे छ । आगामी चालु आर्थिक वर्षमा ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिइएको छ । एकै वर्ष १० वटा जीवन बीमा कम्पनी खुल्दा पहिलो आर्थिक वर्षमा आईएमई लाइफ १० मा दोस्रो स्थानमा थियो । तर हाल याे कम्पनी पाँचौ स्थानमा झरेको छ । आईएमई ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु मध्ये आइएमई लाइफको पर्फमेन्स कमजोर भएको प्रवर्द्धकको बुझाई छ । यहि बीचमा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले राजीनामा दिएपछि जीवन बीमाको मार्केटिङमा तगडा व्यक्तिलाई सीईओको जिम्मेवारी दिएको हो ।