सामुदायिक लघुवित्तको डीसीईओ वेलुमाया मगरले पाइन् कामु सीईओको जिम्मेवारी
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी वेलुमाया मगरले पाएकी छिन् । संस्थाले चैत १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मगरलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शिवहरि श्रेष्ठले राजीनामा दिएसँगै संस्थाले मगरलाई कामु सीईओको जिम्मेवारी दिएको हो । श्रेष्ठको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागू हुने कम्पनीले जानकारी गराएको छ ।
नेको इन्सुरेन्सको सञ्चालकमा विनयरमण पौडेल, राष्ट्रिय वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने
काठमाडौं । नेको इन्सुरेन्सको सञ्चालकमा विनयरमण पौडेल नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक पौडेलले कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट पदबहाली गरेका हुन् । पौडेललाई राष्ट्रिय वाणिज्य बैंकले प्रतिनिधि मनोनित गरि नेको इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक पौडेलले कम्पनीका संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
सिन्धु विकास बैंकको डीसीईओमा रामकुमार गिरी नियुक्त, बैंकिङ्ग क्षेत्रमा दुई दशकबढीकाे अनुभव
काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक संचालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो । नवनियुक्त डीसीईओ गिरीसँग बैंकिङ्ग क्षेत्रमा २१ वर्षभन्दा बढी कार्य गरेको अनुभव छ । उनले नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरिसकेका छन् । आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले यस बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा लिएको छ । बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यावसायिक व्यक्तित्वको संचालक समिति रहेको छ ।