उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा डा.शाह नियुक्त, सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । चैत ३१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा डा. ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. ढुङ्गानालाई सोहि दिन सम्पन्न संस्थाको साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । र, त्यसपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाको सञ्चालक पदमा ६ जनालाई निर्वाचित भएका छन् । अध्यक्षसहित संस्थापक सेयरधनीको समूहबाट ४ जना, सर्वसाधारण समूहमा २ जना र स्वतन्त्र सञ्चालकमा १ गरी ७ जनाको सञ्चालक समिति बनेको छ । संस्थापक समूहबाट खड्ग बहादुर राना, खिलराज मैनाली, तुलसीराम खनालले प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण समूहबाट राजन तिवारी र यमकुमार खड्काले र स्वतन्त्र सञ्चालकमा भार्गव धितालले प्रतिनिधित्व गर्ने छन् । संस्थाको साधारण सभा रुपन्देहीको भरहवास्थित होटल पौवामा सम्पन्न भएको थियो ।

समीट लघुवित्तको अध्यक्षमा तिर्थराज ढकाल

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा तिर्थराज ढकाल चयन भएका छन् । चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो । चैत २९ गते सम्पन्न संस्थाको १२औं वार्षिक साधारणसभाले ढकाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरण विष्ट नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले विष्टलाई सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ विष्टले आगामी बैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने छन् । यससँगै उनले आगामी चार वर्षसम्म संस्थाको सीईओ पदमा रहेर जिम्मेवारी सम्हाल्ने छन् । साथै, उनले सोहि मितिदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्ने छन् । त्यस्तै, चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले दिएका राजिनामा स्वीकृत गरेको छ । उनले दिएका राजिनामालाई बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।