पूर्वाधार बन्ने भएपछि चिनियाँ ईन्धन ल्याउन बाटो खुल्यो, नेसनल ट्रेडिङले चीनबाट ईन्धन आपूर्ति गर्ने

काठमाडौं । चीनले नेपालसँगका नाका खोल्न सडकसञ्जाल बनाउने भएपछि चिनियाँ ईन्धन आपूर्ति गर्न बाटो खुलेको छ । नेपाल-चीनसँग रणनीतिक महत्व बोकेको सीमाका पुराना र नयाँ नाका जोड्ने सडकसञ्जाल निर्माणका लागि चीनले प्रतिबद्धता देखाएपछि ईन्धन ल्याउनका सहज हुने देखिएको छ । मंगलबार भएको द्विपक्षीय वार्तामा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले कनेक्टिभिटी पहिलो प्राथमिकता रहेको बताएका थिए । काठमाडौं-चीन जोड्ने नाका खोल्नका लागि कोदारी सडक चौडा र रसुवागढीको टिमुरेमा पुल निर्माण गर्न नेपाललाई करिब १५ अर्ब रुपैयाँ (एक अर्ब आरएमबी) सहयोग गर्न चीन सहमत भएको थियो । चीनसँगको नाका जोड्ने सडक सञ्जाल निर्माण हुनेभएसँगै ईन्धन आपूर्तिको लागि फेरि बाटो खुलो आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । दुई वर्ष अगाडी भारतिय नाकाबन्दीमा निकै चुलिएको विषय बनेको थियो ‘चिनियाँ ईन्धन’ । भौतिक पूर्वाधार नपुगेर अघि बढ्न नसकेको चीनबाट पेट्रोलियम तथा ग्यास आपूर्ति गर्न ढोका खुलेको हो । सन् २०१६ को मार्च २० देखि २७ तारिखको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा १५ बुदामा सम्झौता भएको थियो । सोही सौम्झताको आठौं बुदामा इन्धन आयात गर्ने र भण्डारण क्षमता विस्तार गर्ने रणनीतिक सहमती भएको थियो । चीन सरकारले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा समेत दिएको थियो । तर, नाकाबन्दी खुलेसँगै यो बिषय आम चासोबाट हट्यो । विकास न्यूजसँग कुरा गर्दै भने, ‘चीनसँगको नाका जोड्ने सडकको खराबीका कारण ईन्धनका लागि काम रोकिएको थियो । अब चीनले बाटो र पुल बनाउने भएपछि ईन्धन ल्याउन मिल्ने सम्भावना बढेको छ ।’ ईन्धनको आपूर्तिको जिम्मा नेसनल ट्रेडिङलाई दिने तयारी चीनबाट ईन्धन आपूर्तिको जिम्मा सरकारी स्वामित्वको संस्थान नेशनल ट्रेडिङलाई दिने तयारी गरेको छ । आपूर्ति मन्त्रालयले चीनबाट ईन्धन आपूर्तिका अध्ययन गरिरहेको र त्यसको जिम्मेवारी नेसनल ट्रेडिङले लिनेबारे छलफल भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । नेसनल ट्रेडिङ लिमिटेडलाई नयाँ ढंगले सञ्चालन गर्नका लागि अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदनमा चीनबाट ईन्धन ल्याउन सक्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको ती अधिकारीले बताए । भारतबाट ईन्धन ल्याउने काम आयल निगमले गरिरहेको बेला चीनतर्फका ईन्धन आपूर्तिका लागि नेसनल ट्रेडिङलाई जोड दिइएको छ। नेसनल ट्रेडिङका महानिर्देशक लवराज जोशीले भने, ‘उपसमितिले विकल्पका रुपमा नेसनल ट्रेडिङले पेट्रोलियम तथा ग्यास पनि कारोबार गर्नमिल्ने प्रतिवेदन तयार गरेको छ । अब यो विषयमा मन्त्रालय प्रस्ताव पेश गर्छौं । केहि दिनमै छलफल गरी टुंगो लाग्छ ।’ उक्त प्रस्तावमा बिटुमिनको कारोबार गर्ने, सात प्रदेशमा पाँचतारे होटेल खोल्ने लगायतका कुरा पनि उल्लेख रहेको उनले बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले मोरङका बाढीपीडितलाई एक लाख सहयोग गर्ने

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले प्राकृतिक प्रकोपबाट पीडितकालागि राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । गत विहिबारदेखि अविरल वर्षका कारण आएको बाढीमा परेका मोरङ्ग जिल्लाका पीडित समुदायमा तत्काल राहत एक लाख एक हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ । बुधबार आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेद बहादुर लावतीले बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल(बिफु–नेपाल)का राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदीलाई चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बीफु नेपालका महासचिव योगेन्द्र बहादुर सिंह, रावा बैंक कर्मचारी संघ नेपालका बरिष्ट उपाध्यक्ष भरत प्रसाद भट्टराई, उपाध्यक्ष तोया शर्मा ढुङगेल, महासचिव हेमराज सुवेदी लगायत रावा बैंक कर्मचारी संघ नेपालका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

बाढीपीडितका लागि प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट ५० करोड निकासा

काठमाडौं । सरकारले बाढीपीडितको उद्दार, राहत र क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले विपदका निम्ती सञ्चित रहेको प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट सो रकम निकासा गरेको हो । बुधबार बसेको प्रधानमन्त्री दैवी कोष उद्धार कोष सञ्चाल समितिको बैठकले गत विहिबारदेखि अविरल वर्षाका कारण आएको बाढीका कारण पीडित लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको मौज्दात रकम एक अर्ब मध्ये ५० करोड रुपैयाँ गृह मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा निकासा गर्ने निर्णय भएको छ । समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा विभिन्न वाणिज्य बैंकहरुमा रहेको ५० लाख भन्दा कम मौज्दात भएमा बैंकको खाता अन्यमा सारी यस्ता खाता बन्द गर्ने निर्णय गरेको छ ।