विद्यालयका लागि दुई लाख रुपैयाँ सहयोग

पाल्पा, २ मङ्सिर । रामपुर नगरपालिका–८ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयका लागि दुई लाख रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको छ । विद्यालयको स्तरोन्नतिका लागि जापानी नागरिक ताकासी होन्डाले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् । शैक्षिक तथा भौतिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता होन्डाले बताए । सो रकम विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्रमा खर्च गरिने विद्यालयका शिक्षक नारायणप्रसाद खनालले बताए । रासस

मोटो धानको मूल्य प्रतिक्वीन्टल एक हजार नौ सय ५०

धनगढी, १ मङ्सिर । धान बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो कृषकले गरिरहेको बेला नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले धानको खरिद मूल्य निर्धारण गरेको छ । प्राथमिक खरिद समिति कैलालीको मङ्गलबार बसेको बैठकले मोटो धानको खरिद मूल्य प्रति क्वीन्टल रु एक हजार ९५० निर्धारण गरेको संस्थानका कार्यालय प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाई आधार बनाई खरिद समितिले धानको खरिद मूल्य निर्धारण गर्ने गरेको छ । संस्थानको अत्तरिया नगरपालिकाको मोहनपुरमा रहेको गोदाममा आजैबाट काँटा सञ्चालन गरी किसानको धान खरिद गर्ने व्यवस्था मिलाइएको लम्सालले बताए । यस्तै जिल्लाका टीकापुर, सत्ती, भजनी र जोशीपुरमासमेत संस्थानले काँटा सञ्चालन गर्न लागेको छ । यस वर्ष नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयलाई ५० हजार क्वीन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति प्राप्त भएको छ । विगतका वर्षमा संस्थानले मोटो, मध्यम र मसिनो धानको खरिद मूल्य निर्धारण गर्ने गरेकामा विगत दुई वर्षदेखि मोटो धानको मात्र खरिद मूल्य निर्धारण गर्ने गरेको छ । रासस

निजी लगानीमा   विद्युतीय पुस्तकालय स्थापना

फलेवास, १ मङ्सिर । उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ । धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गरेका हुन् । आचार्यले आफूले माध्यामिक तहसम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुगेको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताए । कक्षा २ देखि १० सम्मका पाठ्यक्रमसहित विभिन्न विधाका १० हजार पुस्तकलाई ‘डिजिटलाइज्ड’ गरिएको पुस्तकालयमा २० वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब रु आठ लाख लगानी गरेको विद्यालयले जनाएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा ३६२ जना बालबालिका अध्ययरत छन् । मङ्गलबार एक समारोहबीच आचार्यले पर्वत क्षेत्र नम्बर– १ का सांसद अर्जुनप्रसाद जोशी, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललगायतको उपस्थितिमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरे । आचार्यले शैक्षिक गुणस्तर वृद्धि होस् र ग्रामीण क्षेत्रका बालबालिकाले प्रविधियुक्त शिक्षा पाउन् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद जोशी, जिशिअ पौडेल, नेपाली काँग्रेसका मुरारी शर्मा र नेकपा ९माओवादी केन्द्र०का नेता बाबुराम कार्कीले सहयोगदाता आचार्यको प्रशंसा गर्दै पुस्तकालयको दिगो र व्यवस्थित प्रयोगमा जोड दिए ।  कार्यक्रममा सहयोगदाता आचार्य र उनकी आमालाई सम्मान गरिएको थियो । रासस