भूकम्प पीडितलाई एक लाख थप्ने रकमको जोहो भएन, रकमान्तर गर्ने अर्थमन्त्रालयको तयारी

काठमाडौं, १ कात्तिक । सरकारले भूकम्प पीडितका लागि थपिदिने भनिएको एक लाख नगद अनुदानका लागि श्रोतको अभाव देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको बैठकले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि एक लाख नगद अनुदान थप्ने निर्णय गरेको थियो । त्यस अघि निजी आवास निर्माणका लागि दुई लाख रुपैँया दिने व्यवस्था थियो र त्यसकै आधारमा प्राधिकरणले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ वितरण समेत गरिरहेको छ । तर सरकारले एक लाख थपेर निजी आवास निर्माणका लागि तीन लाख नगद अनुदान पुर्याउने घोषणा गरेको लामो समय वितिसक्दा समेत श्रोतको व्यवस्थापन भने गर्न सकेको छैन् । पुननिर्माणका कामबारे विश्व बैंक र एसियाली विकास बैंकले सन्तोषजनक प्रतिक्रिया जनाईरहेका बेला सरकारले थप एक लाख दिने घोषणा गरेपछि ती निकायले रकमको श्रोतबारे जिज्ञासा राखेका थिए । अर्थमन्त्री कृष्ण बहादुर महराले श्रोत व्यवस्थापनबारे ठोस योजना प्रस्तुत नगरेकाले दाताहरु असन्तुष्ठ रहेका बताइन्छ । पछिल्लो समय अर्थमन्त्रालय भूकम्प पीडितलाई थप्ने भनिएको एक लाख रुपैंयाँका लागि रकमान्तर गर्ने निष्कर्षमा पुगेको छ । ‘अहिलेसम्म कुन श्रोतबाट थप एक लाख दिने भन्ने बाटो देखिएको छैन तर सरकारले निर्णय गरिसकेकाले रकमान्तर गरेर भएपनि भूकम्प पीडितलाई एक लाख रुपैंयाँ थपिन्छ’, अर्थ सचिव शान्तराज सुवेदीले विकासन्युजसँग भने । उनले पहिलो किस्ता वापत उपलब्ध गराइएको ५० हजार रुपैंयाँको कामको लेखाजोखा गरेर मात्रै दोश्रो किस्ताको रकम दिने र सो अवधीसम्ममा रकमान्तर गरेरै भएपनि श्रोतको जोहो गर्ने पनि स्पष्ट पारे । पहिले तीन किस्ता वापत पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रोमा ७० हजार रुपैंयाँ दिने व्यवस्था थियो । थप एक लाख रुपैंयाँ दिने निर्णयसँगै दोश्रो किस्ता एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख दिने व्यवस्था गरिएको छ । हाल पुननिर्माणका लागि ७४५ अर्ब रुपैंयाँ अपुग हुने देखिएको छ । कुल ९३८ अर्ब लागत अनुमान गरिएको पुननिर्माणका लागि दाताहरुले ३४३ अर्ब रुपैंयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमध्ये २७२ अर्ब रुपैंयाँको सम्झौता भैसकेको छ ।

राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै, राष्ट्रपतिको छोरी र पूर्व राष्ट्रपतिको नातिबीच टिकाटालो

काठमाडौं १, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ। अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ। राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो। उनीहरुको विहे आगामी माघ महिनाका लागि तय गरिएको छ।

२ वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट, दरबन्दी भने सात जनाको

काठमाडौं ३०, असोज । पर्साको घोडदौड पिपरा ८ लक्ष्मीपुरमा रहेको स्वास्थ्थ चौकी २ वर्षदेखि परिचरको भरमा चलिरहेको समाचार सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । हेल्थपोस्टमा एक जना हेल्थ अस्ष्टिेन्ट एचए, ३ जना अहेव , दुइ जना अनमी र एक जना परिचर गरी ७ कर्मचारीको दरबन्दी छ। तर २ वर्षदेखि परिचर सुरेश राउत कुर्मीकै भरमा हेल्थपोस्ट चलिरहेको स्थानीय जगदिश साहले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयले परिचर पनि नपठाएपछि गाविस कार्यालयले स्थानीय स्रोतबाट मासिक ४ हजार रुपैयाँ तलव दिएर कुर्मीलाई राखेको हो।