आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न आपूर्ति सचिवको सिफारिस

काठमाडौं । जग्गा खरिद प्रकरणमा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् । संसदीय समितिले पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै मन्त्रालयलाई कारबाही गर्न निर्देशन दिएको थियो । कारबाहीका लागि मन्त्रिपरिषधमा सिफारिस गर्ने मन्त्रालयले जानकारी दिएको छ ।सम्बन्धित निकायले छानविन गरी खड्कामाथि कार्वाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय अपचलन र अनियमितता भएको ठहर गरेको थियो । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको पाइएको छ । चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेको समितिको  ठहर छ । बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।

चाडपर्वका लागि नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा खुल्ने

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताए । यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ । यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन् । सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ । समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताउनुभयो । कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ । राजधानीबाट दशंै, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । रासस

एनएमबिमाइक्रोफाइनान्सका शाखा प्रबन्धकलाई वित्तीय साक्षरता सम्बन्धि तालिम

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार वित्तीय साक्षरता तालिमका उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द नभए पनि यसभित्रका विषयवस्तुहरु गहन रहेको कुरा वताए । उनले वित्तीय साक्षरताका विषयवस्तुहरु वचत, कर्जा, बिमा, विप्रेषण आदि रहेकोले यस बारेमा सवै ब्यक्ति तथा समुदायहरुले जान्नुपर्नेमा जोड दिए । वित्तीय साक्षरता सम्बन्धी तालिम सदस्यहरुलाई मात्र नभएर शाखा प्रबन्धक लगायत सबै तहका कर्मचारीहरुलाई अत्यावश्यक रहेको उनले बताए । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको गहनाको रुपमा रहेको वित्तीय अनुशासन र सुशासनलाई हर क्षेत्रमा कायम राख्नुपर्ने उनले बताए । कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका ८ जना कर्मचारीहरुका साथै २८ जना शाखाप्रबन्धकरुको उपस्थिति रहेको थियो । विभागीय प्रमुख खगेन्द्र तिम्सिनाले गरेका उक्त तालिममा सहभागीहरुलाई विभागीय प्रमुख डम्बर वहादुर श्रेष्ठले स्वागत गरे । उक्त तालिम पश्चात सबै शाखाप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिलाई आफ्नो शाखा अन्तरगतका सदस्यहरुलाई तालिम प्रदान गर्न सक्ने गरी दक्ष वनाइने उद्धेश्य रहेको बैंकले जानकारी दिएको छ ।