क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

पोखरा । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । जाँचका क्रममा माइक्रोबसमा मुडालगायत सामान प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उनले बताए । केही दिनयता क्षमताभन्दा बढी सिट बनाएर यात्रु बोक्ने गरेका दैनिक १० भन्दा माथि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ । रासस

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

चितवन । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्को शहरमा सिधा हवाई सेवा थिएन । अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउँछन् । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उनले बताए । चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्को शहरमा जानुपर्ने बाध्यता रहेको थियो । पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्को गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए । चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी २ लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् । पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउँछन् । चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उनको अनुमान छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उनले बताए । नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि यसले उकास्ने तुलाचनको भनाइ छ । पोखरामा वर्षेनी चार लाखको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ । त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताउँछन् । पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुने उनको भनाइ छ । भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन् । जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ । सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताउँछन् । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उनले बताए । भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उनको भनाइ छ । बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उनले बताए । लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन् । यातायातको सुविधा प्रबद्र्धन गर्न सकेमा ती पर्यटक सोझै यहाँ आउने र प्रमुख गन्तव्यको भ्रमण गर्ने पनि उनले बताए । सन् २०१६ मा लुम्बिनीमा १ लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म १ लाख ५६ हजार पर्यटक भित्रिएका छन् । होटल एसोसिएसन अफ नेपाल हानका महासचिव विनायक शाह पर्यटकीय शहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउँछन् । सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उनले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताए । विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ । सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताए । यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो । रासस  

भूकम्पपछि ध्वस्त काष्ठमण्डपको अझै पुनःनिर्माण भएन,

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण कार्य अझै शुरु हुन सकेको छैन । विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३ सय वर्ष पुरानो रहेको छ । काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डप लगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थियो । काष्ठमण्डप पुनःनिर्माण अभियानले झण्डै डेढ वर्षदेखि जनस्तरबाट नै काष्ठमण्डपको पुनःनिर्माण अभियानमा जुटिरहेको छ । रासससँग कुरा गर्दै काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले काष्ठमण्डपको पुनःनिर्माण कार्य जनस्तरबाट नै हुनुपर्ने आफ्नो स्पष्ट अडान रहेको तथा विदेशी मुलुकबाट धन ल्याएर यसको निर्माण गर्ने सम्बन्धमा आफ्नो विमति रहेको बताए । काष्ठमण्डप पुनःनिर्माणका लागि करोडौँ रुपैयाँ लाग्न सक्छ यो जनस्तरबाट उठाउन सक्छ कि सक्दैन भन्ने जिज्ञासा राख्दा उनले भने, “काष्ठमण्डप पुनःनिर्माणका लागि जनताबाट मज्जाले पैसा उठ्नेछ ।” यसमा चिन्ता गर्नुपर्ने आवश्यकता छैन । यसको पुनःनिर्माणका लागि विदेशबाट पैसा नलिने प्रतिबद्धता अभियानको छ । काष्ठमण्डपको स्थितिमा उनले थपे, “काष्ठमण्डपभित्रको जग एक हजार ३ सय वर्ष पुरानो छ । यसमा रहेको चारवटा पिलर खम्बा एक हजार वर्ष पुरानो छ । उत्खननका क्रममा मिलेकोे समयकाल र सातौँ शताब्दीमा काष्ठमण्डपको निर्माण कार्य लीलाबज्रले निर्माण गरेको भनी थ्यासफूमा उल्लेख भएको भनी बौद्धविद्वान यज्ञमानपति बज्राचार्यको भनाइ अध्ययनका क्रममा मिल्न आएकाले यसलाई आधार मानिएको अध्यक्ष श्रेष्ठले बताए । अर्को प्रसंगमा उहाँले काठमाडौँ महानगरपालिकासँग दक्ष जनशक्ति नभएको र पुरातत्व विभागले उपलब्ध गराएको नक्सा पनि काष्ठमण्डपको पुनःनिर्माणका लागि पर्याप्त नभएकाले परम्परागत वास्तुकलालाई मिश्रण गरेर तथा जनता तथा स्थानीय बासिन्दाको राय, सल्लाह लिई तयार गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसको विरोध मात्र आफूहरुले गरिरहेको बताए। श्रेष्ठले काठमाडौँ महानगरपालिका तथा पुरातत्व विभागसँग पनि सहकार्य गर्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताए । सो अभियानअन्तर्गत उडाय समाज, राजकर्णीकार समाज तथा नेपाल मण्डलसहित थुप्रै संस्थासँग मिलेर नेवा सभ्यताको प्रतीक काष्ठमण्डपको पुनःनिर्माण अभियानमा विदेशी पैसाबिना नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । रासस