नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ । संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार नेपाल-भारत संसदीयमैत्री समूह , नेपाल-अमेरिका संसदीयमैत्री समूह, नेपाल अष्ट्रेलिय संसदीयमैत्री समूहलगायत समूह गठन गरिएको हो ।

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।  महाशाखाले आज (आइतबार) साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।  देशका पहाडी तथा तराई क्षेत्रका धेरै  र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ । 

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख २३ हजार पाँच रुपैयाँ र २२ बुक ताससहित पक्राउ गरेको हो । यस्तै, चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ ।  वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४६५ र चार रुपैयाँ बुक ताससहित पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।