नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
चितवन । वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्को समयमा पहिरो खस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सडक आवागमन अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो । उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ । यस्तै, सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहोलोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखेको उनले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाई सवारी आवागमनलाई चुस्त र नियमित सञ्चालन राख्ने उद्देश्यले उपकरण अपरेटरसहित तयारी अवस्थामा राखिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक वर्षात्को समयमा लेदोसहितको पहिरो र हिँउदको समयमा सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुने गर्दछ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यस सडकमा दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्दछन् । रासस
पौडेलको रिटमा भट्टको सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो । सर्वोच्चले पौडेल जोडिएको विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दिपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कलै मिसिल झिकाउन भनेको हो । पौडेलविरुद्ध सोही अभियोग अन्तर्गत पुरक अभियोग लैजाने गरी अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मिसिल माग गरेको हो । पौडेलका कानुन व्यवसायीले भने मूल मुद्दामा विष्णु पौडेलका विरुद्धमा कुनै पनि कसुर नदेखिने दाबी गरेका छन् । उनीहरूको दाबीपछि सर्वोच्चले उक्त मिसिल झिकाउँदै बिहीबारका लागि अर्को पेसी तोकेको छ । पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले थुनामुक्त गर्न आदेश माग गरेकी थिइन् । यसअघि असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । पौडेल अहिले ललितपुरको पुल्चोक प्रहरी प्रभागको हिरासतमा छन् ।
मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाट जस्ता गतिविधिलाई वैधानिकता दिने काम भयो : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनै पनि क्षेत्र गतिका साथ अघि बढन नसकेको तर्क समेत गरे । अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भए पनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आम जनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे । अध्यक्ष ओलीले भने, ‘खेलाडीहरूमा देशभक्ति चाहिन्छ । देशको प्रतिष्ठाका लागि खेलाडीहरूले कसरी ज्यान फालेर खेलेका हुन्छन् । हामी हरेकमा देशभक्ति चाहिन्छ । हामीले त्यसलाई बुझ्नुपर्दछ । देश विकसित भएन भने मलाई खेलसँग मतलब छ अरूथोक भनेर देश नै बर्बाद छ भने खेलमात्रै कसरी अघि बढ्छ र । नेपालको हालत त्यही भएको त हो ।’ अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको पनि बताए ।