काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउने उद्देश्यले नयाँ अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै अबदेखि सरुवा सम्बन्धी सम्पूर्ण कार्यहरू उक्त प्रणालीमार्फत मात्र सञ्चालन गरिने जानकारी गराएको छ।
मन्त्रालयका अनुसार सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी आवेदन पेस गर्नु पर्नेछ ।
अनलाइन प्रणालीभन्दा बाहेक अन्य कुनै पनि माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदनहरू उपर कुनै पनि कारबाही नगरिने व्यहोरा समेत मन्त्रालयले स्पष्ट पारेको छ ।
यस अनलाइन सरुवा प्रणालीको प्रयोग सम्बन्धी निर्देशिका तथा आवश्यक जानकारीहरू प्रणालीमै उपलब्ध गराइएको छ ।
मन्त्रालयले यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै कर्मचारी तथा सम्बद्ध निकायहरूबाट सहयोगको अपेक्षा गरेको छ ।
सरुवाका लागि इच्छुक कर्मचारीले मन्त्रालयको वेबसाइट [http://saruwa.mofaga.gov.np/](http://saruwa.mofaga.gov.np/) मार्फत वा सूचनामा दिइएको क्यूआर (QR) कोड स्क्यान गरेर प्रणालीमा पहुँच पाउन सक्नेछन् ।