बर्डफ्लुबाट प्रभावित किसानका लागि ५० करोड निकासा
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो । विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए । विभागका अनुसार बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट ७० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा देखिएको छ । भाइरसको स्वरूप परिवर्तन हुनसक्ने जोखिम रहेकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि पन्छी, अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताए । रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रणकक्ष स्थापना गरिएको छ । रोग देखिएका क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी नियन्त्रणको प्रयास जारी छ ।
सिद्धार्थ बैंकको सातवटा शाखा समायोजन हुँदै
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने भएको छ । बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्ने भएको हो । बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय कालिमाटी शाखा कार्यालयमा र नरदेवी शाखा कार्यालय पुतलीसडक शाखा कार्यालयमा समायोजन गर्ने भएको छ । त्यस्तै ललितपुरको जावलाखेल शाखा कार्यालय बी एण्ड बी शाखा कार्यालयमा, पोखराको चिप्लेढुंगा र बुद्धचोकको शाखा कार्यालय पोखरा सभागृहस्थित शाखा कार्यालयमा र बगरस्थित शाखा कार्यालय पस्र्याङस्थित शाखा कार्यालयमा गाभ्न लागेको हो । स्थानान्तरित शाखा कार्यालयबाट साउन १ गतेदेखि एकीकृत कारोबार गरिने बैंकले जनाएको छ । शाखा समायोजन गर्दा लकर पनि स्थानान्तरण हुने भएकोले टुटफुट हुने सामग्री भएमा असार २६ गतेसम्म लकरबाट निकालिसक्न ग्राहकलाई बैंकले आग्रह गरेको छ ।
नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ र नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । उनको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुने पार्टीले जनाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार डा. आचार्य भक्तपुर निवासी हुन् । उनी यसअघि नेपाली कांग्रेसको प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति रहिसकेका छन् । कांग्रेसले नीति, अनुसन्धान र प्रशिक्षणसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ डा. आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।