भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, सञ्चालक समितिको बैठक नबस्दा नयाँ मूल्य रोकियो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले नयाँ खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको छैन । यसपटक खरिद मूल्यमा उल्लेख्य परिवर्तन भएकाले निगम सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्य लागू गरिने भएको हो ।  नेपाल आयल निगमले सामान्यतया हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गर्दै आएको छ ।  आईओसीले प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ खरिद मूल्य पठाउने गर्दछ । सोहीअनुसार शुक्रबार नै नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म संशोधित मूल्यसूची सार्वजनिक गरेको छैन ।  निगमको स्वचालित मूल्य प्रणालीसम्बन्धी कानुनी व्यवस्थाअनुसार प्रतिलिटर दुई रुपैयाँसम्म मूल्य समायोजन गर्ने अधिकार व्यवस्थापनलाई मात्र छ । तर, दुई रुपैयाँभन्दा बढीले मूल्य बढाउन वा घटाउनुपर्ने अवस्था आएमा भने सञ्चालक समितिको बैठकबाट निर्णय गराउनुपर्ने अनिवार्य व्यवस्था छ । आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यमा उल्लेखनीय परिवर्तन (दोहोरो अंकको वृद्धि) भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्य सार्वजनिक गरिने निगमका प्रवक्ता मनोजकुमार ठाकुर बताउँछन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी अध्यक्ष रहेको निगम सञ्चालक समितिमा अर्थ मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागका प्रतिनिधि, विज्ञ सदस्य, निगमका कार्यकारी प्रमुख र ट्रेड युनियनका प्रतिनिधिहरू सदस्य रहेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले यसपटक भारतबाटै इन्धनको मूल्य उल्लेख्य बढेर आएको निगम स्रोतले जनाएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सञ्चालक समितिको बैठक बस्न नसकेको र बैठक बस्नासाथ निर्णय गरी नयाँ मूल्य लागू गरिने निगमले जनाएको छ ।  भारतबाट खरिद मूल्य बढेर आएका कारण नेपालमा पनि इन्धनको खुद्रा मूल्य बढ्ने निश्चित जस्तै छ ।

‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपांग संघका अध्यक्ष चम्लागाईंको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिना सहमति राखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । बिहीबार जारी अपिलमा अध्यक्ष चम्लागाईंले उक्त भेलासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन् ।  राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका रूपमा आफ्नो नाम राखिएको विषय स्वीकार गर्न नसकिने उनको भनाइ छ। अपिलमा उनले पार्टीभित्र असन्तुष्टि हुन सक्ने तर त्यसको समाधान विधान, विधि र संगठनात्मक प्रक्रियाभित्रै खोजिनुपर्नेमा जोड दिएका छन् ।  नेपाली कांग्रेसको वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै पनि समानान्तर वा अवैधानिक भेला हुन नसक्ने उनको तर्क छ । चम्लागाईंले नेतृत्व परिवर्तनको लोकतान्त्रिक बाटो महाधिवेशन नै भएको उल्लेख गर्दै असन्तुष्ट नेताहरूलाई १५औं महाधिवेशनमा नेतृत्वको परीक्षामा उत्रिन आग्रह गरेका छन्। उनले समानान्तर गतिविधि, भ्रम सिर्जना गर्ने प्रयास र विभाजनको राजनीति त्यागेर खुला लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेका छन् । उनले कांग्रेस लाखौं कार्यकर्ताको त्याग, बलिदान र जनविश्वासबाट बनेको संस्था भएकाले पार्टीलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।  साथै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा आबद्ध सदस्य तथा कांग्रेस कार्यकर्ताहरूलाई वैधानिक नेतृत्वको पक्षमा दृढतापूर्वक उभिन र यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेका छन् । चम्लागाईंले पार्टीभित्रका मतभेद संवाद, सहकार्य र विधानसम्मत प्रतिस्पर्धामार्फत समाधान गर्दै एकताबद्ध र समयानुकूल कांग्रेस निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन् ।

गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् । आइतबार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिब डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो । हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका १३ बुँदे मागहरूमा थप ६ बुँदा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ ।  सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा एक समिति गठन गर्ने समझदारी भएको उनले बताए ।  वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष सनातनीले देशमा धार्मिक सद्भाव कायम राख्न र मुलुकलाई द्वन्द्वबाट जोगाउन आफूहरू सहमतिमा आएको बताए । उनले भने, ‘हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी ‘वसुधैव कुटुम्बकम’ मा विश्वास गर्छौं । हिन्दू राष्ट्रको परिकल्पना गर्दा हामी सबै धर्म र समुदायलाई उत्तिकै सम्मान गर्छौं । कसैलाई पनि अन्याय गर्ने हाम्रो उद्देश्य होइन ।’ उनले राजनीतिक दलहरूले यस विषयलाई लिएर षडयन्त्र गर्नसक्ने भन्दै सबैलाई सचेत रहन समेत आग्रह गरे ।  हिन्दु सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवकाअनुसार धर्मका आधारमा कुनैपनि आयोग गठन नगरिने, मदरसा तथा मस्जिदको ‘फन्डिङ’ (कोष परिचालन) र धार्मिक स्थलहरूमा प्रयोग गरिने लाउड स्पिकरको व्यवस्थापन लगायतका विषयमा समेत समझदारी भएको छ । वार्ताका क्रममा गृहमन्त्रीले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै कुनै पनि धार्मिक समुदायका पर्व र गतिविधिमा अवरोध वा हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । सरकारी पक्षबाट माग सम्बोधन गर्ने लिखित तथा मौखिक प्रतिवद्धता प्राप्त भएपछि हिन्दू सम्राट सेनाले नेपाल बन्दसहितका सम्पूर्ण विरोधका कार्यक्रमहरू तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ ।  अहिलेको परिस्थितिमा देशलाई अन्धकारतर्फ धकेलिन नदिन र शान्ति कायम राख्नका लागि वार्ता र सहमतिलाई प्राथमिकता दिइएको संगठनले जनाएको छ ।