४४ रिक्त पदका उपनिर्वाचन हुँदै, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम)सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ । मङ्सिर २ गते उम्मेदवारी दर्ता उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँ, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछ । महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपैयाँ, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले २ लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्षले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछ । आयोगले यही कात्तिक १ गते आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकेको छ । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल मजदुर किसान पार्टीले सहभागिता जनाउने छन् । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल दर्ता भएका छन् ।
विश्व सहरी फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै
काठमाडौं । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सो सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । विश्वका १५० भन्दा बढी देशको सहभागिता हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका सहरबाट (स्थानीय पालिका) चन्द्रागिरि नगरपालिकाले भाग लिने लागेको हो । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरिले ‘भिएलआर’ प्रतिवेदन तयार गरेको थियो । सम्मेलनमा भाग लिन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी शनिबार इजिप्टको कायरोतर्फ प्रस्थान गरेका छन् । उनले सम्मेलनमा नगरपालिकाका तर्फबाट भिएलआर प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति एवं सम्बोधन समेत गर्नेछन् । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको थियो । प्रमुख गिरीले भने, ‘दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । यही प्रतिवेदनका बारेमा मैले अन्तराष्ट्रिय समुदायमा जानकारी गराउँदछु । यो नगरपालिका एवं मेरो लागि ऐतिहासिक अवसर हो ।’ उनले नगरपालिकालाई थप आवश्यक सहयोग जुटाउन विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनम महत्वपूर्ण हुने विश्वाससमेत गरे । दिगो विकास लक्ष्यका विभिन्न विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् । चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ । सहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न चन्द्रागिरिले उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाले दातृ निकायका सहकार्यमा ‘कोभिड–१९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहलमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना’ पनि सञ्चालन गरिरहेका छ । सहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन एकापसमा अन्तरसम्बन्धित हुने बताइएको छ । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष गरेर सहरीकरणका लागि मुख्य चुनौती बनिरहेका खानेपानी, सरसफाइ र सहरी पूर्वात्रधारको व्यवस्थापनको विषयमा सहभागी देशका बीचमा छलफल हुने जनाइएको छ । साथै बस्ती विकासका क्रममा भोगका समस्या, जलवायु परिवर्तनका कारण देखिएका असरका बारेमा अनुभव आदान प्रदान हुने छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, ‘सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने ध्येयलाई पूरा गर्न ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ प्रतिवेदनले सहयोग पुर्याउँछ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्दै समुन्नत नगर बनाउने हाम्रो प्रमुख ध्येय हो । यसैमा हाम्रा समग्र नीति, योजना तथा कार्यक्रम केन्द्रित छन् । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाउनु नगरपालिकाका लागि अवसर मिलेको छ ।’ उनले नगरपालिकाले भौतिक पूर्वाधारका साथसाथमा विशेष गरेर शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता क्षेत्रमा नयाँ ढङ्गबाट काम गरिरहेका जानकारी दिए ।
बञ्चरेडाँडामा बढ्यो फोहर, दैनिक १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन
फाइल फाेटाे काठमाडौं । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहर निकै बढेको छ । यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा २ सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि दैनिक ३ सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर पुनःप्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिने वातावरण प्रमुख सरिता राई बताउँछन् ।