व्यापारीले स्वस्फूर्त हटाउँदै अनधिकृत संरचना, समाधान होला त अव्यवस्थित पार्किङ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पछिल्लो समय पार्किङको सुविधा नभएका बेसमेन्टसहितको भवनमा निरीक्षण बढाएका छन् । अहिले उनी कतिपय ठाउँमा डोजर नै लिएर पुग्ने गरेका छन् भने कतिपय ठाउँमा निश्चित समयको अल्टिमेटम दिएर फर्किने गरेका छन् । उनको कार्यलाई सहयोग गर्न कतिपयले स्वस्फूर्त रुपमा पनि अनाधिकृत संरचना हटाउन थालेका छन् । नक्सापासविपरीत अण्डरग्राउण्ड पार्किङमा राखिएका पसल, टहरा तथा नक्सा नै नबनाएर बनेका घर लगायत हटाउनका लागि सर्वसाधारणबाट पनि उनलाई ठूलो साथ मिलेको छ । ट्राफिक व्यवस्थापन नगरेका व्यवसायिक भवनहरुलाई कानूनको दायरामा ल्याउने प्रयास गरिरहेको उनलाई विभिन्न ठाउँमा अनाधिकृत रुपमा बनाएका संरचना भत्काउन व्यापारिक समूहबाट पनि साथ पाएका छन् । बानेश्वरमा रहेको यूएफओ ब्रान्डको पसल रहेको व्यवसायिक भवनले पार्किङ क्षेत्र बनाउन सुरु गरेको छ । उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ । यस्तै, अर्केड कम्प्लेक्स, रुप फेसन र माछापुच्छ्रे बैंकले सञ्चालन गरेको अवैध संरचना पनि स्वस्फूर्त रुपमा हटाउन थालिएको छ । यससँगै बानेश्वर, कोटेश्वर, तीनकुने, सुविधानगर, न्युरोड, रत्नपार्क, भोटाहिटी, महाराजगञ्ज, बालाजु, जोरपाटी, कलंकी र चाबहील क्षेत्रका व्यापारीहरुले आफै अवैध संरचना हटाउन थालेको महानगरले बताएको छ । अहिले विशेष गरेर महानगरको ध्यान बेसमेन्टसहितको भवनमा छ । महानगरपालिका सहरी विकास विभागका प्रमुख सुरज शाक्यका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्म काठमाडौंमा २ सय ७८ वटा बेसमेन्ट सहितका भवनहरु निर्माण भएका छन् । त्यस्तै आर्थिक वर्ष ०७५/७६ भन्दा अगाडिको समयमा पनि महानगरभित्र १ सयवटा जति त्यस्ता प्रकृतिका भवनहरु निर्माण भएको हुनसक्ने उनको भनाइ छ । विभागका प्रमुख शाक्यका अनुसार बेसमेन्टको स्वीकृति लिएर निर्माण गरिएका भवनहरुले कम्तिमा २० प्रतिशत क्षेत्रमा पार्किङको व्यवस्था गर्नुपर्ने हुन्छ । ‘२० प्रतिशत पार्किङलाई नै छुट्याउनुपर्ने र अन्य प्रयोजन भनेको स्टोर हो, अन्य प्रयोजन गर्न पाईंदैन’, प्रमुख शाक्यले विकासन्युजसँग भने । करिब ३ सय वटा व्यापारिक भवनमा पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा मापदण्डविपरीत पसल र अन्य संरचना निर्माण गरिएको पाइएपछि महानगरले गत साउन २ मा ३५ दिने सूचना जारी गर्दै त्यस्तो क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशन पालना नगरिएपछि महानगरले गत सोमबारदेखि अनुगमन र अनधिकृत संरचना हटाउने अभियान नै थालेको थियो । समाधान होला पार्किङको समस्या ? महानगरका अनुसार सबै बेसमेन्ट भवनमा पार्किङको सुविधा भएमा काठमाडौंको २५ प्रतिशत पार्किङको समस्या समधान हुनेछ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट पनि सडकमा पार्किङ हुने र सडकमा रोकिने सबै सवारी साधन बेसमेन्टमा जाने अवस्थामा सडक खुकुलो हुने बताउँछन् । सबै भवनमा पार्किङको सुविधा भएमा सवारी आवागमनमा सहजता भएर ट्राफिक व्यवस्थापनमा सजिलो हुने उनको भनाइ छ । ‘एकलाइनमा मोटरसाइकल र गाडीको पार्किङ हुन्छ, अब बेसमेन्ट खाली भयो भने सडकमा पार्किङ हुने सवारी साधनलाई बेसमेन्टमा पठाउन सकिन्छ मान्छेले बाध्यतावश पनि फुटपाथमा पार्किङ गर्छन्, बेसमेन्टहरु पूर्ण रुपमा खाली भए भने त्यो अवस्था रहँदैन, अहिलेको पार्किङको समस्या धेरै हदसम्म समाधान हुन्छ,’ उनले भने । उनका अनुसार ‘सडकमा गाडी राख्न पाईंदैन ट्राफिकले कारवाही गर्छ भनेर जानकारी हुँदाहुँदै पनि मानिसले बाध्यताले सडकमा पार्किङ गर्ने गरेको बताए । सडकमा पार्किङ भइरहेका सवारी साधनहरु बेसमेन्टमा गयो भने सवारी धनी र ट्राफिक प्रहरी दुबैलाई सहज हुने उनी बताउँछन् । बेसमेन्टमा कम्तिमा ३/४ हजार सवारी साधन पार्किङको व्यवस्था हुनसक्ने अनुमान गर्दै उनले त्यसो भएमा सडकमा सवारीसाधन राख्ने दवाब घट्ने उनले बताए । बेसमेन्ट भएका भवनहरुमा पार्किङ भएपछि बाँकी रहने पार्किङ समस्यालाई समाधान गर्नको लागि बहुतले पार्किङ र सार्वजनिक स्थानहरुमा अन्डरग्राउन्ड पार्किङको विषयलाई अगाडि बढाउन सकिने उनले बताए । ‘बहुतले पार्किङ हुनसक्छ, सार्वजनिक स्थानहरुमा पार्क भएका ठाउँहरुमा पनि माथि पार्क बनाएर पनि तल पार्किङ पनि बनाउन सकिन्छ’, उनले भने । सरकारले चाहेमा त्यस्ता कामहरु गर्न सक्ने उनको भनाइ छ । दिनानुदिन बढिरहेको सवारी साधनको व्यवस्थापन गर्नको लागि पनि यो काम गर्ने पर्ने प्रवक्ता भट्टले बताए । साथै अहिलेको समस्या भनेको मुख्य व्यापारिक क्षेत्रहरुमा भएकाले ती क्षेत्रहरुमा बेसमेन्ट पार्किङलाई कार्यान्वयन गर्न सकिएमा आवागमनमा सहजता हुनसक्ने उनले बताए । अहिले काठमाडौं महानगरका मेयरले पार्किङ व्यवस्थापनको लागि अगाडि बढाएको कदमले सबै ट्राफिक प्रहरी र सवारी साधनका प्रयोगकर्तालाई सहज बनाउने प्रवक्ता भट्टको भनाइ छ ।

२४ घण्टाभित्र कर नतिरे फनपार्क शिल गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनीमार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न निर्देशन दिएको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । पटकपटक निर्देशन दिँदा पनि फनपार्कले कर नतिरेकाे बताउँदै महानगरले  तोकिएको समयभित्र कर नतिरे फनपार्क शिलबन्दी गर्ने चेतावनी पनि दिएको छ । ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ, तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह अशुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।  

मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन

सिन्धुपाल्चोक । गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन् । पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताए । व्यवस्थित बजार बनाउन बजारवासी, उपभोक्ता र स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै पैदलयात्रु हिँड्ने बाटो मिचेर पसल राख्ने, जथाभावी टहरा बनाउँदा बजार अव्यस्थित तथा कुरुप बन्दै गएको स्थानीयवासीले बताएका छन् । नगर प्रमुख तामाङसहित उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, मेलम्ची–११ वडाध्यक्ष चन्द्रबहादुर तामाङ, बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्का, मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ, लायन्स क्लब अफ लगायतका स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा बजार अनुगमन गरिएको थियो । मेलम्ची बजारमा नगरपालिकाका बासिन्दाबाहेक पाँचपोखरी, हेलम्बु, इन्द्रावती गाउँपालिकाका र नुवाकोटका नागरिक किनमेलका लागि आउँछन् । बजारमा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय अभाव, पिउने पानीको समेत व्यवस्था नहुँदा सर्वसाधारणले भने सास्ती खेप्न परेको छ । मुख्य बजारमा यी संरचना भइदियोस् भन्ने उपभोक्ताको चाहना पनि छ । अहिले नगरपालिकाले गैरकानुनी रुपमा निर्माण गरिएका संरचना हटाउने, जथाभावी फोहर फाल्न नदिने, बजारमा अस्तव्यस्त पार्किङ गर्न नपाइने भनेर सूचना निकालेको छ । नगरपालिकाको यो निर्णयको बजारवासीले स्वागत गरेका छन् । नगरपालिकाको गत साउन ४ गतेको बैठकले १५ दिने सूचना जारी गरे पनि अहिलेसम्म कसैले पनि यस्ता संरचना हटाएका छैनन् ।