महानगरले सुरज आर्केडलाई पसल खाली गर्न दियो २४ घण्टा

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थति सुरज आर्केडलाई २४ घण्टाको समय दिएको  छ । महानगरले सुरज आर्केडको बेसमेन्टका पसलहरुलाई खाली गर्न २४ घण्टाको समय दिएको हो । पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ । जमिन तला, बेसमेन्ट, सेमी बेसमेन्ट, भुइँतलालाई स्वीकृत नक्साबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको पाइएकाले महानगरले गत साउन २ मा स्वीकृतिअनुसार नै प्रयोग गर्न ३५ दिने सूचना निकालेको थियो ।

काठमाडौंको सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन् । त्यस्तै, महानगरले फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ । यसअघि महानगरले सडक फुटपाथमा नगर प्रहरी खटाएबापत ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो ।

महानगरको अनधिकृत संरचना हटाउने अभियानमा मेरो समर्थन छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी छिन् । उनले आइतबार सामाजिक संजालमा स्ट्याटस राख्दै महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी हुन् । ‘अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो, म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु, त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु,’ उनी लेख्छिन् । उनले काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्ने एजेण्डा प्रति आफु सजग र सचेत रहेको पनि बताएकी छिन् ।