७ क्यासिनोलाई महानगरको पत्र : ७ दिनभित्र कर नतिरे कारवाही गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालीत ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न पत्र पठाएको छ । महानगरले आइतबार पत्र पठाउँदै ७ वटा क्यासिनोलाई ७ दिन भित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो । महानगरले म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनो, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोलाई कर तिर्न पत्राचार गरेको हो । महानगरले ७ दिनभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्ने जनाएको छ ।

गाईघाटमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु

उदयपुर । त्रियुगा नगरपालिकास्थित वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ । राजधानी काठमाडौं महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भइरहँदा गाईघाट बजारमा पनि नक्सा पास विपरित सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए । उनका अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई नगरपालिकाका इञ्जिनीयरको प्रत्यक्ष उपस्थिति र नक्सा जाँच गरी हटाउने कार्य सुरु भएको हो । गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रबाट गाईघाट डिएमगेट हुँदै त्रियुगा नमूना माविको पछाडिको सडकखण्डदेखि लोकतान्त्रिक चोकसम्मको सडक क्षेत्र र गाइघाट सेतो पुल हुँदै मदन भण्डारी मार्गअन्तर्गत पु्रानो गाईघाटस्थित पिजी चोक तथा बरुवा बसपार्क क्षेत्रसम्मको झण्डै चारकिलो मिटर चौडाइ र पाँच किलामिटर लम्बाइका बजार क्षेत्रका अवैध घर टहरा संरचना हटाउन दुई हप्ता अगाडि नै सूचना जारी गरिएको उपप्रमुख महेश्वरी राईले बताए । सूचना जारी गरेर दिइएको समयावधि समाप्त भइसकेका कारण संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि गाईघाट बजारको ट्राफिक चोकदेखि पुरानो गाईघाटका पिजी चोकसम्मको दाँयाबाँया सडकखण्ड अतिक्रमण गरेर बसेका तरकारी व्यापारी तथा फलफूल व्यापारीलाई हटाउने कार्य सम्पन्न भएको बताइएको छ । रासस

यी हुन् महानगरपालिकालाई कर नतिर्ने २३ ठूला कम्पनी, चर्चित व्यापारीलाई समाउँदै बालेन

काठमाडौं । काठमाडौं महानरपालिकाले राजश्व नतिर्ने ठूला कम्पनीको नाम संकलन गरिरहेको छ । महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउनेको लागि आधार र प्रमाणहरु जुटाउने काम थालेको हो । महानगरपालिकाले अहिले वडागत रूपमा कर नतिर्ने कम्पनी तथा व्यवसायीहरूको नाम संकलन गर्न थालेका काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले बताए । केही दिन अगाडि मात्र महानगरपालिले कर नतिर्नेले कारबाही गर्ने भन्दै २४ घण्टे सूचना प्रकाशन गरेको थियो । अधिकारीका अनुसार महानगरले हालसम्म कर नबुझाउने २३ वटा विभिन्न संस्था तथा कम्पनीको नाम संकलन गरिसकेको छ । ‘महानगरपालिकाले कर उठाउँदैन, कर उठाउने जिम्मा वडाको हो, अहिले वडासँग कर नबुझाउनेको विवरण मागेका छौं,’ उनले भने । ठूला कम्पनी मध्ये केही कम्पनीले भने स्थापनाकाल देखिनै कर महानगरलाई बुझाएका छैनन् । उनका अनुसार महानगरपालिकालाई नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ बराबरको कर तिर्न बाँकी छ । महानगरपालिकाका अनुसार प्राधिकरणले स्थापना काल देखिनै महानगरलाई सम्पत्ति विवरण बुझाएको छैन । यस्तै, खाद्य संस्थानले पनि महानगरपालिकालाई हालसम्म कर बुझाएका छैन । महानगरपालिकालाई ह्वाईट फिल स्कूलले पनि महानगरलाई लाखौं रुपैयाँ कर बुझाउन बाँकी छ । रञ्जना ट्रेड सेन्टरले पनि वर्षौंदेखि कर बुझाउन बाँकी रहेको अधिकारीले बताए । रञ्जना ट्रेड सेन्टर कालु गुरुङ, मिनबहादुर गुरुङ, दुर्गा बहादुर श्रेष्ठ लगायतका व्यवसायीको भवन हो । विभागका प्रमुख अधिकारीका अनुसार साझा भण्डार, राष्ट्रिय नाचघर, नेपाल चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष भवन, नेशनल ट्रेडिङ्ग लिमिटेडले पनि महानगरलाई कर बुझाउन बाँकी छ । यसैगरी नेपाली जामे मस्जिद, कृषि सामाग्री कम्पनी, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताले पनि लामो समयदेखि कर तिरेका छैनन् । आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, त्रिवेणी कम्प्लेक्सले पनि कर बुझाउन बाँकी रहेको महानगरले जानकारी दिएको छ । काठमाडौं प्लाला नेपाल ट्रष्टको भवन हो । त्रिवेणी कम्प्लेक्स संघाई ग्रुपको हो । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाई त्रिवेणी ग्रुपका मालिक हुन् । कर नतिरेपछि राष्ट्रिय नाचघरको घरजग्गा कारोबार रोक्का भएको छ । ‘राष्ट्रिय नाचघरले घरजग्गा बेच्न भन्दै ४ वर्ष अगाडि महानगरमा आएको थियो, कर नतिरेको भएर घरजग्गा बेच्ने सिफारिस दिएनौं’ । गाडी व्यापार गर्ने कम्पनीहरु एडभान्स र भिजी अटोमोबाइल्स प्रालिले पनि कर महानगरलाई बुझाएका छैन । अधिकारीका अनुसार सिविक, डेण्टल हस्पिटल, ठूला विजनेश कम्प्लेक्स बनाएर भाडा उठाउने व्यापारीहरु प्रदीप रत्न अमात्य, मसिना अमात्य, रविता श्रेष्ठले पनि कर बुझाउन बाँकी छ । महानगरपालिका अहिले वडा गत रुपमा कर नतिर्नेहरुको नाम संकलन गरिरहेको छ । थप विवरण आउँन बाँकी रहेको पनि अधिकारीले बताए । ‘सरकारी भएका कारण कर तिर्नु नपर्ने भन्ने बुझाइ छ, अब सरकारीदेखि प्राइभेटसम्मका निकायहरूले महानगरपालिकालाई कर बुझाउनु पर्ने छ,’ उनले भने ।