उपमेयर डंगोलले सार्वजनिक गरिन् आफ्नो सय दिने कामको श्वेतपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनप्रतिनिधि निर्वाचित भएर पद वाहल भएको १ सय दिन भित्र गरेको काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम पुरा भएको र १० योजनाको सुरुवात गरेको उल्लेख छ । जसमा पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा लगाएको सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । उनले वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गरेको बारे श्वेतपत्रमा उल्लेख गरेकी छिन् । यस्तो छ उपमेयर डांगोलले सार्वजनिक गरेको श्वेतपत्र १) पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा नेपालको संविधानको भाग १७ धारा २१७ बमोजिम प्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभावाट न्यायिक समितिका दुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीय विवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भैसकेको छ । संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशी भएका मुद्धामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रिया अन्तर्रगत हालसम्म पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई गरी ५१ वटा विवाद किनारा लागेको छ । २) फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ । ३) वडास्तरीय महिला सेल गठन पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकी थिएँ । सोही बमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्नेछ । ४) सय दिन महानगरवासी सँगसँगै विभिन्न संघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भै महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ जसले काठमाडौँवासीसँगसँगै रहेर यहाँका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ । ५) आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९÷८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकिकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरी आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकता पहिचान गरिए वमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ । ६) मेलमिलापकर्ता छनौट प्रक्रिया विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उदेश्यले मेलमिलापकर्ताको सूचि तयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूचि कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्ऽ गठन गरी साना–तिना विवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ । ७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास मानव बेचबिखन ओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ । ८) शिक्षा क्षेत्रमा सुधार शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापन लगायतका कार्यक्रमहरु अघि सारिएको छ । ९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरण गर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितको पहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएका छन् । त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समितिलगायत विभिन्न गुथिहरुसँग नियमित रुपमा बैठकहरु बसी तीव्र गतिमा तयारी गर्दैैं आएका छौं । १०) नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य स्थानीय भाषाको अध्ययन–अध्यापनलाई निरन्तरता दिंदै नेपालभाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेको छ । ११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता कार्यविधि २०७९÷०३÷१० मितिमा कार्यपालिका बैठकबाट गठन भएको योजना तथा अनुगमन समितिको संयोजक रही सम्पदा तथा पर्यटन विभाग मातहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणका लागि छनौट भएका १० वटा योजना मध्ये १० वटाकै अनुगमन सम्पन्न भएको छ । त्योसँगै अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । सम्पदाको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा सकारात्मक प्रयासहरु भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्ने लगायतका काम पनि यो विचमा भएका छन् । १२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९÷८० का लागि राजस्व सम्वन्धि नीति तर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिका मार्फत नगरसभामा पेश गरियो । आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजश्व, गैर कर राजश्व, सेवा शुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्व प्रशासन सुधारका लागि राजश्व ऐन २०७५ मा आवश्यक संशोधन समेतका व्यवस्था यसै समिति मार्फत नगरसभामा पेश गरी स्वीकृत भए वमोजिम कान्यान्वयनमा आइसकेको छ । १३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार काठमाडौँ महानगरको दीगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशन लगायतका प्रतिनिधिसँग छलफल गरी अनुभव आदन–प्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ । १४) अपाङ्गता परिचयपत्र वितरण काठमाडौ महानगरपालिका सामाजिक सेवा विभाग अन्र्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयँ घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ । शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहिन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ । १५) सहरी व्यवस्थापन महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएका कानुन, विभिन्न तहबाट भएका निर्णय समेतका आधारमा महानगर प्रमुखको नेतृत्वमा महानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमा अनधिकृत संरचना हटाउने, पार्किङ व्यवस्थापनलाई प्रवर्द्धन गर्ने, बाहृय विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवर्द्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनका कार्यहरुमा उल्लेख्य नतिजा प्राप्त भएको छ । थालनी गरिएका केही योजनाहरुः १) दरबार हाइस्कूल र कन्या मा.वि लाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ । २) घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बिच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ । ३) करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भैरहेको छ । ४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको छ । ५) सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ । ६) न्यायिक समितिको अनुभव आदान–प्रदान गर्ने र असल तथा सफल अभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ । ७) अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ । ८) गैरसरकारी संघ–संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजना तथा कार्यक्रमको प्राथमिकता अनुकुल बनाउनेतर्फ कारवाही अघि बढाएको छ । ९) उपभोक्ता हित, संरक्षण तथा मानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी नीति तथा योजना तर्जुमा गरिएको छ । १०) महानगरपालिकाको योजनाबद्ध र दिगो विकासका लागि यसै आर्थिक वर्ष भित्र आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन महानगरपालिकाले आवश्यक कार्य अघि बढाइसकेको छ । माथि उल्लेखित कार्यहरु १ सय दिन भित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्त विषयहरु हुन् । यस बाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्दछ । त्यसका लागि आम महानगरवासीको चाहना, आवश्यकता र सहभागिता सहित सम्पादन गर्न, गराउन हामी सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको कर्तव्य हुनेछ । आगामी दिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध छु ।

प्राधिकरणलाई बालेनको जवाफ : नियमसंगत कर उठाउँछौं, महसुल पनि भुक्तानी गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकाले नियमसंगत तरिकाले कर उठाउने र वैद्यानिक कागजातसहित आएका महसुल चुक्ता गर्ने बताएका छन् । काठमाडौं महानगरलाई कर नबुझाउने नेपाल विद्युत प्राधिकरणको भनाइ आएपछि शाहले मंगलबार आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमा लेख्दै महानगरले उठाउने कर र प्राधिकरणले उठाउने महशुल एकअर्कामा सापटी गर्न नमिल्ने समेत बताएका छन् । हेर्नुहोस बालेनल सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ । १. काठमाडौ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ । २. नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो । ३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ । ४. सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छररहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ । ५. सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ । योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।

बागलुङमा विद्युत्को पहुँचले ढिकी, जाँतो र पानीघट्टको प्रयोग हराउँदै

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ । गाउँलेले पिसानी अन्न पिस्ने कामका लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ । तर जिल्लाको अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुले पँच वर्ष अगाडिसम्म पानी घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घर्तीमगरको भनाइ छ । उनले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको जनाउँदै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको बताए । उनले घट्टको विकल्पमा अरु माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भित्रिएको बताए । ‘पहिले हामीले कुटानी पिसानी गर्ने ढिकी, जाँतोबाहेक अरु केही थिएन, कि घरमै जाँतोमा आटो पिठो पिस्नु पथ्र्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानु पथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन’, उनले भने, ‘अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टलेभन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दोरहेछ ।’ पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक वीरबहादुर सुनारले बताए । गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उनको भनाइ छ । ‘घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन’, सञ्चालक सुनारले भने, ‘यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरु नै पेशा गर्नुपर्ने अवस्था आएको छ, डेढ वर्षभन्दा बढी भयो मेरो घट्टमा मान्छे नआएको, त्यसभन्दा पहिले मान्छेहरु फट्टफुट्ट आउने गर्थे । रासस